प्रधानमन्त्रीजी, यही हो टुँडिखेल-नारायणहिटी समेटेर विशाल पार्क बनाउने समय

१७ बैशाख २०७६, मंगलवार ०२:०० प्रकाशित

प्रधानमन्त्रीजी,

काठमाडौंमा दुई विशाल पार्क निर्माणबारे केही समयअघि मैले सेतोपाटीमा एउटा लामो लेख लेखेको थिएँ। त्योभन्दा अघि मेरा मित्र सुदीप श्रेष्ठले पनि त्यस्तै लामो लेख लेखेका थिए।

अहिले खुलामञ्च अतिक्रमणको पृष्ठभूमिमा राजधानीमा पार्क र खुला ठाउँको विषय फेरि एकपटक सान्दर्भिक र पेचिलो बनेको छ।

समस्या परेपछि कहिलेकाहीँ झनै राम्रो समाधान निकाल्न सकिन्छ। त्यतातिर बढ्न सजिलो हुन्छ। त्यसैले, मैले पहिले लेखेको लेखमा ‘व्यवहारिक’ रूपले केही परिमार्जन र केही थप व्याख्यासहित यो लेख लेखेको छु।

प्रसंग तपाईंले एकपटक सार्वजनिक रूपमा भन्नुभएको कुराबाट सुरू गरौं।

तपाईंले भन्नुभएको थियो— विश्वले अब नेपाललाई प्रकृति र मान्छेले बनाएको सुन्दर देश भनेर चिन्नेछन्।

मेरा एक अमेरिकी प्राध्यापकका शब्दमा, प्रकृतिले बनाएको अतिसुन्दर र मानिसले बिगारेको कुरुप सहर हो, काठमाडौं।

भू-बनोट, मौसम, बोटबिरुवाको विविधता र सांस्कृतिक सम्पन्नताका हिसाबले काठमाडौं दक्षिण एसियाकै सुन्दर सहर हो। तर, हामीले काठमाडौंलाई दक्षिण एसियाकै कुरुप सहर बनाएका छौं।

दक्षिण एसियाका ठूला सहरहरूमा पार्क बनाउने, हरियाली सिर्जना गर्ने अभियान अघि बढेको धेरै भइसक्यो। ती सहरमा धमाधम नयाँ पार्क बन्दैछन्, पुराना पार्क ब्युँताउने काम हुँदैछ।

हामी भने अझै ब्युँझेका छैनौं।

प्रधानमन्त्रीजी, हामी ब्युँझिने बेला यही हो। काठमाडौंलाई प्रकृति र मानिसले बनाएको सुन्दर सहर भनेर चिनाउने कामको सुरूआत गर्ने अहिले नै हो। त्यसपछि आउने सरकारले, आउने पिँढीले त्यो काम अघि बढाउने छन्।

काठमाडौंको सुन्दरता र वैभव कालान्तरमा स्थापित हुनेछन्।

काठमाडौं एक दिनमा बिग्रेर यस्तो भएको होइन। यसको लामो सिलसिला छ। अहिलेको कुरुप अवस्थाबाट निस्किएर फेरि सुन्दर सहर बन्न काठमाडौंलाई धेरै समय लाग्नेछ। सम्भव भने छ।

संसारका धेरै सहरको इतिहासले यही भन्छ- सहरहरू बिग्रिन्छन्, कुरुप बन्छन्, अनि फेरि सुन्दर बन्छन्।

काठमाडौंको सुन्दरता पुनर्स्थापना गर्न र यसलाई बस्नलायक सहर बनाउन पहिलो चरणमा तीन काम आवश्यक छन्— काठमाडौंका खोलानाला पुनर्स्थापना, सफाइ र हरियाली अभियान र थुप्रै सानाठूला सार्वजनिक पार्क निर्माण।

खुसीको कुरा, यी सबै काम हाम्रै बुताले गर्न सम्भव छ।

प्रधानमन्त्रीजी, तपाईंले नेतृत्व लिनुभयो भने महानगरवासीले साथ दिनेछन्। मुलुकबासीले साथ दिनेछन्। काम सुरू हुनेछ। त्यसपछि कसैले त्यसलाई रोक्ने छैन। रोक्न सक्ने छैन।

कत्रो पार्क बनाउने, कसरी बनाउनेभन्दा पहिले पार्क किन चाहिन्छ भन्नेबारे कुरा गरौं?

टुँडिखेल-नारायणहिटी क्षेत्र समेटेर बन्ने विशाल पार्कको आवश्यकता, पर्यावरणीय महत्व, पार्क र हरियालीसँग मानिसको सम्बन्ध र यसको सांस्कृतिक तथा पर्यटकीय आयामबारे कुरा गरौं।

पार्क संसारभर सहरका अभिन्न अंग बन्न थालेका छन्। नयाँ पार्क बनाउने, पुराना पार्क पुनर्स्थापना र विस्तार गर्ने अभियान चलेको छ। कुनै पनि सहरको पर्यावरण, त्यहाँका मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य, त्यो सहरको शोभा र सभ्यतासँग पार्क जोडिन थालेको छ।

पार्क र हरियालीबिनाको सहर आजकाल पछौटे सहर मानिन्छ। त्यहाँका मानिस पछौटे मानिन्छन्। आजकाल पार्क भएको सहर धनी हो, पार्कबिनाको सहर गरिब।

त्यसैले, अमेरिकादेखि युरोप र दक्षिण एसियासम्म पार्क निर्माणको ‘ज्वरो’ सल्केको हो।

अमेरिकाका कैयन सानाठूला सहरले दस मिनेट हिँडाइमै सहरबासीले पार्क भेट्टाउनुपर्छ भन्ने मान्यता अघि बढाएका छन्। सन् २०१७ अक्टोबरमा हजार जना अमेरिकी मेयरको सम्मेलनले ‘दस मिनेट हिँडाइमा पार्क’ भन्ने प्रस्ताव एकमतले पारित गर्यो। कैयन मेयरले यसका लागि काम सुरू गरिसकेका छन्।

सहरको कोलाहलबीच मानिसका आँखा र मन शीतल र शान्त पार्न मात्र पार्क चाहिने होइन। पार्कको महत्व त्योभन्दा बहुआयामिक र गहिरो छ। फेरि पार्क भनेको मुलुक धनी भएपछि मात्र बनाउने पनि होइन। पार्क विलासी कुरा होइन, सहरको न्यूनतम आवश्यकता हो। धनीभन्दा न्यून आय भएका मानिसलाई झनै चाहिने कुरा हो।

सहरी बासिन्दाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पार्क र हरियालीले पार्ने सकारात्मक प्रभावबारे पछिल्ला वर्ष धेरै अध्ययन, अनुसन्धान भएका छन्।

अमेरिकाको ‘साइन्स’ जर्नलमा प्रकाशित एउटा अनुसन्धान चकित पार्ने खालको छ।

अनुसन्धानकर्ताहरूले पेन्सलभेनिया अस्पतालमा अपरेसन गरेर दुई फरक खालका कोठामा राखिएका बिरामीको अध्ययन गरे। एकखाले कोठाका झ्यालबाट रूखहरू देखिन्थे। अर्काखाले कोठाबाट इँटाका भित्ता। ती दुई कोठामा बसेका बिरामीको दस वर्षको मेडिकल रिपोर्ट अध्ययनले गज्जबको कुरा देखायो।

रूख देखिने कोठामा बसेका बिरामी इँटाको भित्ता देखिने कोठामा बसेका बिरामीभन्दा अपरेसनपछि छिट्टै घर फर्किए। अस्पतालमा बस्दा थोरै ‘पेनकिलर’ प्रयोग गरे। उनीहरूले नर्ससँग थोरै मात्र नकारात्मक टिप्पणी गरे। यो अध्ययनले मानिसको रूख र हरियालीसँगको सम्बन्ध बुझ्न सघायो।

सन् २००१ मा नेदरल्यान्डमा गरिएको अर्को अध्ययनले पार्क, हरियाली र मानिसको स्वास्थ्य सम्बन्धबारे थप रहस्य खोलेको छ। यो अध्ययनले १० हजार डच नागरिकको स्वास्थ्य र उनीहरू बस्ने ठाउँबीच कस्तो सम्बन्ध छ भन्ने हेरेको थियो।

अध्ययनले के देखायो भने, हरियाली कम भएकोभन्दा धेरै भएको क्षेत्रमा बसोबास गर्ने मानिसका स्वास्थ्य समस्या थोरै थिए। उनीहरूले आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो भएको बताए। पार्क होस् वा जंगल वा खेतीपाती गरिएका क्षेत्र- यी सबैखाले हरियालीले मानव स्वास्थ्यमा उस्तै सकारात्मक प्रभाव पार्ने उक्त अध्ययनले देखायो।

अध्ययनको निष्कर्ष छ— बसोबास स्थल वरिपरि १० प्रतिशत मात्र हरियाली बढायो भने पनि मानिसको आयु पाँच वर्ष थपिने गरी स्वास्थ्य समस्या घट्छन्।

मानिसको स्वास्थ्य र जीवनसँग पार्क, हरियाली र रूखबिरुवाको यति गहिरो सम्बन्ध हुनुको खास कारण छ।

मानिस लाखौं वर्षदेखि प्रकृतिसँगको तादात्म्यमा हुर्किएको प्राणी हो। करिब दुई लाख वर्षअघि आधुनिक मानव जातिको उत्पत्तिपछिका हजारौं वर्ष जंगली जनावरले मानिसको शिकार गरे। मानिसले विस्तारै समूह बनाएर प्रतिरोध गर्न सिक्यो। पछि ढुंगाका हतियार बनाउन सिक्यो। त्यसपछिका हजारौं वर्ष मानव जातिले जनावर शिकार गरेर जंगलमै बितायो।

करिब १२ हजार वर्षअघि मात्र कृषि युग सुरू भएको हो। त्यसपछि मानिस कम चलायमान हुन थाल्यो। एकैठाउँ बसेर कृषि उत्पादन गर्नेतिर लाग्यो।

हावा, पानी, माटो, रूखबिरुवासँग उसको संसर्ग कृषि युगमा झनै कसिलो बन्यो।

माटोको बासना, बग्ने ताजा पानीको बासना, रूखबिरुवाको बासना र ती रूखबिरुवामा ठोक्किएर आएको हावाको बासना तथा शरीरमा ठोक्किने पारिलो घामको स्पर्शसँगै मानव शरीर विकसित हुँदै, परिवर्तन हुँदै आएको हो।

हजारौं हजार वर्षदेखि माटो र रूखबिरुवाको संसर्गमा हुर्किएको मानव ‘जिन’ हाम्रा पुर्खा, आमा-बामार्फत् स्थानान्तरण हुँदै हाम्रो शरीरसम्म आइपुगेको छ।

सहरिया जीवनले प्रकृतिसँगको हाम्रो त्यो सम्बन्ध एक्कासि चुँडालेको छ।

सहरमा बस्ने हाम्रो शरीरको रूखबिरुवासँग सम्पर्क टुटेको छ। माटोको गन्ध सुँघ्न पाउँदैन। न बग्ने पानीको आवाज सुनेको छ, न त्यस्तो ताजा पानीको बासना नै थाहा छ। सहरिया शरीरले न त पुग्ने गरी हावाको स्पर्श लिन पाएको छ, न घामको।

नेपालीका सन्दर्भमा यी सबै परिवर्तन पछिल्ला ५० वर्षमा भएका छन्। मानव जातिको लामो इतिहासमा ५० वर्ष एकदमै छोटो समय हो।

सहरिया शरीरले अर्को पनि बदमासी गरेको छ— यो चलायमान हुन पटक्कै छाडेको छ। दुई लाख वर्षदेखि चलायमान मानव जातिको ‘जिन’ आफूभित्र बोकेको यो शरीर झन् झन् नहिँड्ने र थचारिएर बस्ने भएको छ।

यसले हाम्रो शरीरभित्रको ‘जिन’ बडो रनभुल्लमा छ। एक किसिमको तनावमा छ। हजारौं वर्षसम्म प्रकृतिमा चलायमान शरीरभित्र हुर्किएको त्यो ‘जिन’ ले सिमेन्टका चार घेराभित्र घ्याच्च परेर बसिरहने सहरिया जीवनशैली चिन्न सकेको छैन। जुन रफ्तारमा हाम्रो जीवनशैली बदलिएको छ, हाम्रो ‘जिन’ ले त्यो बुझ्न र त्यहीअनुसार आफूलाई ढाल्न सकेको छैन।

यसले शरीरमा रोग संक्रमण बढेको छ। हिजो फरक जीवनशैलीमा नदेखिएका रोग आज देखिएका छन्। हिजो फरक जीवनशैलीमा खुसी मान्छेको मन आज हरबखत तनावले भरिएको छ।

प्रकृति र माटोसँग मानिस जसरी ‘अचानक’ छुट्टिएको छ, सायद त्यसको पीडा मानिसको चेतन, अवचेतनमा थुप्रिएर बसेको छ। मानिसको अवचेतनले रूखबिरुवा र माटो ‘मिस’ गरिरहेको छ। त्यसैले बिरामी पर्दा अस्पताल बसेको मान्छे झ्यालबाहिर रूख देख्दा चाँडै तङ्ग्रिन्छ। प्रकृतिमाझ पुग्दा फुरुंग हुन्छ।

हामी सहरका मानिसलाई जंगलमा स्थानान्तरण गर्न सक्दैनौं। न त सहरलाई जंगलमा बदल्न सक्छौं। तर, सहरमा रूख रोप्न सक्छौं, हरियाली बढाउन सक्छौं। खाली ठाउँ खोजेर र ठाउँ खाली गरेर सानाठूला पार्क बनाउन सक्छौं। ती पार्कमा एकैछिन हिँडेर, डुलेर मानिसले तनाव कम गर्न सक्छन्। रमाउन सक्छन्। खुसी हुन सक्छन्।

अनुसन्धानकर्ताहरूले फिनल्यान्डको राजधानी हेलसिन्कीमा सहरका पार्क र सहरभित्रका जंगलले मानिसको स्वास्थ्य र ‘मुड’ मा कस्तो असर पार्छ भनेर अनुसन्धान गरेका छन्।

यस्ता जंगल र पार्कमा केवल दस मिनेट हिँडाइले मानिसको तनाव कम गर्ने अनुसन्धानले देखाएको छ। यस्ता ठाउँमा दस मिनेट हिँडाइले पनि तनाव कम गर्ने हर्मोन सक्रिय पार्न सक्छ।

रूखबिरुवाले हाम्रो मुड मात्र सफा गर्दैनन्, कथित सहरिया आधुनिक जीवनले उत्पादन गर्ने प्रदूषण पनि नियन्त्रण गर्छन्।

रूखबिरुवाले वातावरणमा फाल्ने कार्बन डाइअक्साइड सोस्छन्। अक्सिजन मानिसलाई सास फेर्न हावामा छाडिदिन्छन्।

‘द अमेरिकन फरेस्ट सर्भिस’ को एक अध्ययनअनुसार ५० वर्ष लामो आयु भएको एउटा रूखले उसको जीवनभरमा ३१ हजार डलर मूल्य बराबर अक्सिजन उत्पादन गर्छ, ६२ हजार डलर बराबर प्रदूषण नियन्त्रण गर्छ र ३७ हजार डलर बराबर पानी रिचार्ज गर्छ।

रूखका पात र जराले पानीमा मिसिएको प्रदूषण फिल्टर गरेर मात्र जमिनमा पठाउँछन्। पानी प्रदूषण गर्ने नाइट्रोजन, पोटासियम र फोस्फरस छान्छन्।

गर्मीमा सहरको तापक्रम घटाउन पनि रूखले काम गर्छन्। एउटा ठूलो रूखबाट हुने वाष्पीकरणले कोठामा राख्ने दसवटा एयरकन्डिसनले २४ घन्टामा फाल्नेजत्तिकै चिसो निकाल्ने अनुसन्धानकर्ताहरूको दाबी छ।

प्रकृतिले रूखबिरुवालाई मानिसको हितमा काम गर्ने कस्तो अजीव गुण र कस्तो तागत दिएको होला!

धन्न रूखले हामीसँग यी सबै ‘सेवा’ बापत् पैसा माग्दैनन्, नत्र मानव जाति उहिल्यै टाट पल्टिसक्थ्यो।

यति गुणकारी रूखलाई हामीले हेला गरेका छौं। काठमाडौंमा रूख रोपेका छैनौं। सहरमा हरियाली छैन। सरसफाइ छैन। पार्कको यति धेरै फाइदा छ, तर हामीले पार्क निर्माणमा चाहिनेजति चासो देखाएका छैनौं। आजका दिनमा काठमाडौंका लागि सबैभन्दा ठूलो विकास नै पार्क र हरियाली हो।

अब हाम्रो चेत बदलिनुपर्छ। विकासका हाम्रा प्राथमिकता बदलिनुपर्छ।

प्रधानमन्त्रीजी, रेल र पानीजहाजको काम पनि तपाईं गर्दै गर्नुहोला। त्यसका लागि पार्क र हरियालीको काम थाति राख्नु पर्दैन। काठमाडौंमा प्रकृति थप्ने र सुन्दर बनाउने कामको सुरूआतलाई थाति राख्नु पर्दैन।

काठमाडौं हामीले धेरै बिगारेको भए पनि केही बाँकी छन्। तिनै ‘बाँकी’ समातेर काठमाडौंको सुन्दरता र सभ्यता पुनर्स्थापनाको काम सुरु हुनसक्छ।

त्यसमध्ये प्रमुख काम हो- टुँडिखेल, टुँडिखेलसँग जोडिएर उत्तर-दक्षिण फैलिएको क्षेत्र, रानीपोखरी र नारायणहिटी संग्रहालय जोडेर काठमाडौंको मुटुमा यो सहरलाई सास फेर्न मिल्ने एउटा पार्क बनाउन सकिन्छ।

दशरथ रंगशालादेखि उत्तर सहिदगेटसम्मको भाग अहिले नेपाली सेनाको नियन्त्रणमा छ। त्यो जग्गा सेनाको होइन। विभिन्न कालखण्डमा सेनाको नियन्त्रणमा पुगेको मात्र हो।

यो जग्गाको बहुसंख्यक भाग अहिले पनि खाली नै छ। त्यहाँ सेनाले बनाएको ‘पार्टी प्यालेस’ छ, त्यसमाथि केही कार्यालय छन्। पार्टी प्यालेस उत्तर र सहिदगेट दक्षिणपट्टि सेनालाई खेल्न सानो प्याराफिट र ट्रयाक बनाइएको छ। पार्टी प्यालेस छिर्ने पश्चिमपट्टिको गेटनजिकै सेनाका लागि पुस्तकालय बनाइएको छ।

भद्रकालीमा नयाँ भवन तयार भइसकेपछि नेपाली सेनालाई कार्यालय प्रयोजनका लागि चाहिने भवन पुग्छन्। माइतीघरदेखि भद्रकालीसम्म फैलिएको जग्गा सैनिक मुख्यालयका लागि मनग्गे हुन्छ। थप कामका लागि सेनासँग काठमाडौं सहरभित्रै छाउनी लगायत ठाउँमा प्रशस्त जग्गा छँदैछ।

त्यसैले, रंगशालादेखि सहिदगेटसम्मको क्षेत्र, जुन पहिले टुँडिखेलकै भाग थियो, यो आमनागरिकको नासोलाई फेरि टुँडिखेलकै अधीनमा फर्काउने।

१७ बैशाख २०७६, मंगलवार ०२:००  मा प्रकाशित

Write your Comment