भोलीदेखि बिरगंजमा अनिश्चितकालीन निषेधाज्ञा

९ श्रावण २०७७, शुक्रबार १७:१५ प्रकाशित

वीरगञ्ज ९ श्रावण :
वीरगञ्जमा समुदाय स्तरमा कोरोना संक्रमण पुगेको र यसलाई फैलिन नदिन भोली विहान ५ बजे देखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर भित्र अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ ।
आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा सम्पन्न संकट व्यवस्थापन केन्द्र पर्साको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो ।
लकडाउन हटेको दुई नवित्दै वीरगञ्जमा कोरोना संक्रमण बढदै गएको र २ जनाको मृत्यु भएको तथा समुदाय स्तरमै संक्रमण पुगेपछि यसलाई नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले बताउनुभयो । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि जारी निषेधाज्ञा अर्को सूचना नआएसम्म लागु हुने प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो ।
वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा सर्वसाधरणलाई घर बाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
सुरक्षा समितिको बैठकले शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, आइसीपि, ड्राईपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको छ । बैंकको हकमा ड्राईपोर्ट र आईसिपीको मात्र खुला रहने जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।
संक्रमणको जोखिमलाई मध्यनजर राख्दै स्थानीय प्रशासनबाट जारी भएका सिकिस्त बिरामी प्रयोजन का लागि आवश्यक पासको व्यवस्था मिलाईने भएको छ । बैठकले भारतसँग सीमा नाका जोडिएका ठाउँहरुबाट आवात जावतमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । उल्लेखित निर्णयको अवज्ञा वा अवलेहलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई आवश्यकता अनुसार बल प्रयोग गरी कारवाही गरिने निर्णय बैठकले गरेको छ ।
कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका सबै व्यक्तिहरुको शीघ्र कन्ट्याक्ट ट्रेसिङ्ग गरी चेकजाँचको कामलाई तीब्रता दिने निर्णय गरिएको छ ।
कोभिड १९ संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनाको समेत परिचालन गरिने भएको छ ।
यसैगरी बैठकले पीसीआर परीक्षण बढेपछि संक्रमितको संख्या बढ्दै जान सक्ने हुनाले क्वारेन्टिन, आइसोलेनसमा सबैलाई राखेर सम्भव नहुने निष्कर्ष निकालेको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका मानिसहरुको घरमा होम क्वारेन्टिन सम्बन्धी मापदण्ड पुग्छ भने घरमै बस्न दिने निर्णय समेत बैठकले गरेको छ । तर त्यसका लागि स्थानीय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको प्रत्यक्ष निगरानीमा रहनुपर्ने शर्त राखिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले संक्रमित भेटिएको ठाउँमा सिल गर्ने, होम आइसोलेसनमा राख्ने, उद्योग प्रतिष्ठानलाई सिल गर्ने, संक्रमितलाई आइसोलेटेड गर्ने लगायतका कार्यको निगरानी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानीय तह र जनप्रतिनिधिले गर्ने निर्णय भएको बताउनुभयो ।
उहाँले मास टेस्टिङका क्रममा फेला परेका लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने तथा लक्षण देखिएकोलाई मात्रै अस्थायी कोभिड अस्पतालमा लैजाने, वीरगञ्जमा थप आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्ने निर्णय बैठकले गरेको बस्नेतले बताउनुभयो ।
यसैगरी, वीरगञ्जमा अब अन्य जिल्लाबाट र विशेषगरी भारतबाट आउन पूर्ण प्रतिबन्ध लगाइएको छ । विशेषगरी छिमेकी मुलुक भारतको बिहारमा संक्रमितको संख्या बढ्दै गएकोले यस्तो निर्णय गरिएको बस्नेतले बताउनुभयो ।

९ श्रावण २०७७, शुक्रबार १७:१५  मा प्रकाशित

Write your Comment