संवैधानिक इजलासका लागि प्रधानन्यायाधीशले छाने यी चार न्यायाधीश/कस्तो छ बरियता ?

१४ जेष्ठ २०७८, शुक्रबार ११:३० प्रकाशित

काठमाडौं १४ जेठ :
प्रतिनिधि सभा विघटनलगायत विषयमा परेका ३० रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानि इजलास गठन गरेका छन्।
पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन्।

प्रधानन्यायाधीश राणाले न्यायपरिषद्ले बनाएको सूचीबाट चार जना न्यायाधीश छानेका हुन्।

आज संवैधानिक इजलासमा ११ रिटको पहिलो सुनुवाइ हुँदैछ। अरू १९ रिट पनि हिजो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गम्भीर संविधानिक व्याख्या गर्नुपर्ने भन्दै यही इजलासमा पठाएका छन्।

वैशाख २७ गते विश्वासको मत लिन खोज्दा नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका थिए।

त्यसपछि राष्ट्रपति भण्डारीले धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याएर सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरिन्। त्यो बेला दलहरूले दाबी प्रस्तुत गर्न नसेकपछि राष्ट्रपति भण्डारीले उपधारा ३ अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गरिन्, जो ओली नै थिए।

यो उपधाराअनुसार प्रधानमन्त्री बनेपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। ओलीले भने एक साता बित्न नपाउँदै विश्वासको मत प्राप्त गर्ने आधार नदेखेको भन्दै उपधारा ५ अनुसार सरकार गठन गर्न मार्गप्रशस्त गरे।
राष्ट्रपतिले उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीले आ-आफ्नो दाबी पेस गरेका थिए।
संवैधानिक इजलासमा छानिएका न्यायाधीशको वरीयता क्रम के हो ?

प्रतिनिधि सभा विघटनविरूद्ध परेका ३० वटा रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमसशेर राणाले आफूसहित पाँच न्यायाधीशको संवैधानिक इजलास गठन गरेका छन्। यसपालि संवैधानिक इजलासको लागि १२ न्यायाधीशको रोष्टरबाट चार जना न्यायाधीश छान्ने सुविधा राणालाई थियो ।

तीमध्ये प्रधानन्यायाधीश राणाले आफूपछिका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई रोजेका छन्। त्यसपछिका वरिष्ठमध्ये चार जनालाई छोडेर उनले न्यायाधीश आनन्दमोहन भट्टराईलाई छानेका छन्। त्यसपछिका तीन न्यायाधीश छोडेर न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई उनले संवैधानिक इजलासमा राखेका छन्।
न्यायाधीश केसी यसअघिको प्रतिनिधि सभा विघटनविरूद्धका रिट हेर्ने संवैधानिक इजलासमा पनि थिए भने न्यायाधीश श्रेष्ठ नेकपालाई एकीकरणपूर्वको अवस्थामा पुर्‍याइदिने न्यायाधीशमध्ये एक हुन्। न्यायाधीश कुमार रेग्मी र श्रेष्ठको इजलासले गत फागुन २३ गते नेकपालाई विघटन गरेर एमाले र माओवादी केन्द्रलाई ब्युँत्याइदिएको थियो।
संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश हुनुपर्ने संवैधानिक व्यववस्था छ। न्यायपरिषदले भने संवैधानिक इजलासका लागि सर्वोच्चका १४ न्यायाधीशको सूची बनाएको थियो। एक न्यायाधीशले अवकास पाएपछि तीमध्ये १३ न्यायाधीशमात्रै कार्यरत छन्।

सवैधानिक इजलासको रोष्टरमा रहेका न्यायाधीशहरू वरीयता यस्तो छ: प्रधाननन्यायाधीश राणा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान।

१४ जेष्ठ २०७८, शुक्रबार ११:३०  मा प्रकाशित

Write your Comment