चीनियाँ टोली लाग्यो थुनिएको रोङ्सी खुलाउन,तामाकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन सरकारको आग्रह

२०७८ अषाढ ५, शनिबार प्रकाशित

शुक्रबार साँझदेखि त्रासमा बाँचिरहेका तामाकोशी तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानमा रहन सूचना जारी भइरहेका बेला थुनिएको नदी खुलाउन चीनियाँ टोली परिचालन भएको छ ।
पहिरोले थुनिएको तामाकोशी नदीको सहायक खोला रोङ्सी खोलाको बहाव सुचारु गर्न चीनियाँ टोली परिचालन भएको हो । शुक्रबार रातिदेखि चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो गएपछि रोङ्सी खोला थुनिएको छ ।
पहिरोले खोला थुनिएपछि ताल बनेका कारण सो पानी एकपटक फुटेर तामाकोशीमा मिसिदा तटीय क्षेत्रमा बाढीको त्रास छ । शनिबार बिहानदेखि चीनियाँ पक्षले खोला खुलाउन पहल गरिरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
नेपालतिरबाट खोला थुनिएको ठाउँमा जान सम्भव नभएकाले चीनको टोली परिचालन भएको हो । कुनै पनि बेला थुनिएको खोला फुट्ने खतरा भएका कारण माथिल्लो तामाकोशी जलवद्यिुत आयोजनाको ड्यामबाट पानी छाडिएको छ ।
अहिले पनि तामाकोशी तटीय क्षेत्रका दोलखा र रामेछापका बस्तिहरुमा सतर्कता अपनाउन सरकारले आगह गरेको छ ।

Write your Comment