उत्तरपूर्वी इथियोपियाको टिग्रे क्षेत्रमा रहेको एउटा बजारमा सरकारी हवाई फौजले गरेको आक्रमणमा दर्जनौँ मानिसहरूले ज्यान गुमाएका वा घाइते भएका विवरणहरू आएका छन्।
प्रत्यक्षदर्शीहरूले बताए अनुसार इथियोपियाको हवाई फौजले उक्त क्षेत्रको राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको बताएका छन्।
मिकाइलीको एउटा प्रमुख अस्पतालका चिकित्सकले कम्तीमा ६० जना मारिएको र ४० जनाभन्दा बढी घाइते भएको बताए।
उक्त सङ्ख्या अझ बढ्नसक्ने ठानिएको छ।
चिकित्सकहरूले हवाई आक्रमणबाट घाइते भएका दुई वर्षका एक जना बालक सहित दर्जनौँ व्यक्तिको उपचार गरिरहेको जनाएका छन्।
इथियोपियाको सेनाले गैर सैनिकहरूलाई निशाना नबनाएको बताउँदै आफ्नो हमलाले ‘आतङ्कवादी’हरूलाई निष्क्रिय बनाउने उद्देश्य राखेको जनाएको छ।
टिग्रेको विद्रोही सेनाले हालैका दिनमा आफूहरूले प्रगति गरिरहेको बताउँदै आएका थिए ।
इथियोपियाको सरकारले त्यसलाई अस्वीकार गरिरहेको थियो।
रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी आइसीआरसीले आफूले घाइते व्यक्तिहरूको उद्धारमा सघाएको जनाएको छ।
यसैबीच संयुक्त राष्ट्रसङ्घले इथियोपियाको सरकारलाई हवाई हमलाका विवरणबारे अनुसन्धान गर्न भनेको छ।
करिब आठ महिनाअघि द्वन्द्व सुरु भएयता हजारौँ व्यक्तिले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन्।
। ( बिबिसिले लेखेको छ )