अमेरिकाले इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि लक्षित हवाई आक्रमण सुरु गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । अमेरिकी फौजमाथि विद्रोहीको ड्रोन हमलाको प्रत्युत्तरमा सञ्चालनमा रहेका र हतियार केन्द्रहरूमा हमला गरिएको पेन्टागनको विज्ञप्तिमा उल्लेख छ।
‘अमेरिकी सैनिकको रक्षा गर्ने कुरामा राष्ट्रपति बाइडन स्पष्ट छन्,’विज्ञप्तिमा भनिएको छ।
बाइडेनले राष्ट्रपति बनेयता इरान समर्थित विद्रोहीमाथि आक्रमण गर्न स्वीकृति दिएको यो दोस्रो पटक हो। इरानमा रहेका अमेरिकी सेनामाथि गएका महिनामा केही ड्रोन आक्रमणहरू भएका छन्। इरानले आफ्नो संलग्नता नरहेको बताएको छ। आईएस समूहसँग लड्न इराकमा २,५०० जति अमेरिकी सैनिक रहेका छन्।
पेन्टागनका अनुसार सिरियाका दुई र इराकको एक लक्ष्यमा रक्षात्मक हवाई हमला गरिएको हो। ती लक्ष्य इरान समर्थित कैताइब हेज्बुल्लाह र कैताइब सय्यद अल–शुहादा विद्रोही समूहले प्रयोग गर्ने स्थान भएको जनाइएको छ ।
सन् २००९ देखि अमेरिकाले कैताइब हेज्बुल्लाहलाई इराकको शान्ति र स्थिरताका लागि खतरा भन्दै आतंककारी समूहको सूचीमा राखेको छ।
विज्ञप्तिमा अमेरिकाले आफ्नो रक्षाका लागि प्रतिक्रिया जनाएको बताइएको छ। अमेरिकाले हमलामा के कति घाइते भए वा मारिए भन्ने बताएको छैन। तर एएफपी समाचार संस्थाले यूकेको सिरिया अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सिरियामा अमेरिकी युद्ध विमानको एउटा आक्रमणमा पाँच विद्रोही मारिएको र अन्य केही घाइते भएको जनाएको छ।
सिरियाको सरकारी समाचार संस्था सानाले एक बालक मारिएको र कम्तीमा अन्य तीन जना घाइते भएको विवरण प्रकाशित गरेको एएफपीले जनाएको छ।
अमेरिकी नेतृत्वमा सद्दाम हुसेनलाई निस्तेज पारिएयता इराकको आन्तरिक मामिलामा इरानको प्रभाव बिस्तारै बढिरहेको बताइएको छ।
यो हमला इरानले अमेरिका सहित अन्य शक्ति राष्ट्रहरूसँग सन् २०१५ को परमाणु सम्झौतालाई पुनर्जीवित गर्न वार्ता गरिरहेको बेला भएको हो। सो सम्झौतामा इरानले केही परमाणु कार्यक्रम रोक्ने र त्यसको बदला इरानमाथि लगाइएका प्रतिबन्ध कम गर्ने बुँदा छन्।
इजरेलसहित केही देशहरू इरानले परमाणु बम बनाउन प्रयास गरिरहेको दाबी गर्छन् जुन कुरा इरानले अस्वीकार गर्छन्।
भूतपूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एकतर्फी रूपमा परमाणु सम्झौताबाट हात झिक्दै सन् २०१८ मा इरानमाथि प्रतिबन्ध लगाएका थिए ।