साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०७८ आश्विन १०, आईतबार प्रकाशित

काठमाडौ १० आश्विन :
साहस उर्जा लिमिटेडको आईपीओमा आवेदन दिने समय आज असोज १० गते अन्तिम दिन रहेको छ।

धितोपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जा क आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइन्छ ।
कम्पनीले गत असोज ६ गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता सेयर निष्कासन गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

सीडीएससीका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म साहस ऊर्जाको आईपीओमा १७ लाख २० हजार ४५४ आवेदकबाट कुल २ करोड ४६ लाख ९ हजार ७६० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन आवेदन माग गरेको तुलनामा ३.८२ गुणाले बढी हो। मागभन्दा बढी आवेदन परिसकेकोले यो आईपीओ गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ।

कम्पनीले पहिलो चरणमा गत साउन २९ गतेबाट भदौ ११ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ।

यो कम्पनीले ८६ मेगावाटको सोलुखोला दूधकोशी हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ।

Write your Comment