राप्रपा महाधिवेशनमा प्रतिनिधि विवाद, संस्थापनले नामावली हेरफेर गरेको आरोप

१६ मंसिर २०७८, बिहीबार १२:२१ प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा प्रतिनिधि सम्बन्धमा विवाद उत्पन्न भएको छ । उपत्यकाका तीन जिल्ला र अन्य केही जिल्लाबाट पठाइएको महाधिवेशन प्रतिनिधिको नामावली संस्थापन पक्षले हेरफेर गरेको आरोप लगाएछि विवाद उत्पन्न भएको हो । जसका कारण बन्दसत्र पनि अघि बढ्न सकेको छैन भने निर्वाचन प्रक्रिया पनि अवरुद्ध भएको छ ।

नयाँ नेतृत्व चयनका लागि भोलि हुने तय गरिएको निर्वाचन कार्यक्रम अनुसार आज बिहान ९ बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुनुपर्नेमा अहिलेसम्म मतदाता नामावली समेत प्रकाशित हुन सकेको छैन । प्रतिनिधिहरुको नामावली हेरफेरको विवाद मिलाउन उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको श्रोतले जनाएको छ ।
यस्तै उम्मेदवारको मनोनयन दस्तुर बढी तोकिएको विषयमा पनि महाधिवेशन प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । अध्यक्ष पदका लागि १ लाख, उपाध्यक्षका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ मनोनयन दस्तुर तोकिएको छ ।

नयाँ नेतृत्वमा बहालवाला अध्यक्ष कमल थापालाई युवा नेता राजेन्द्र लिङ्देनले चुनौती दिनुभएको छ । दुवै पक्ष प्यानलसहित निर्वाचनमा होमिने तयारीमा रहेका छन् ।

१६ मंसिर २०७८, बिहीबार १२:२१  मा प्रकाशित

Write your Comment