बारा २७ बैशाख :नेकपा एमाले जीतपुरसिमरा निर्वाचन परिचालन कमिटिले सिमरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नगर प्रमुख पदकी उमेदवार सरस्वती चौधरीले जीतपुरसिमरालाई समृद्ध बनाउन स्पष्ट कार्यदिशा र योजना सहित अघि बढ्ने प्रतिबद्दता जनाउनु भएको छ।
एमाले नेतृत्वको पहिलो कार्यकालको समिक्षा गर्दै उहाले भन्नुभयो , “जनसंख्या र भूगोलको हिसाबले उपमहानगरपालिका घोषणा गरिएपनि पूर्वाधारका हिसाबले अत्यन्तै कमजोर उपमहानगरलाई उपमहानगरपालिकाजस्तै बनाउन हाम्रो सुरुवाती दिन निकै चुनौतीपुर्ण रहयो, सिमित स्रोत र साधनका बीच उपयुक्त ऐन, कानुन, कार्यविधिको अभावमा, कार्यक्षेत्रको सिमितता, कार्यपालिकामा अल्पमत लगायत विभिन्न बाधा व्यवधानले पहिलो कार्यकालमा जनअपेक्षा बमोजिम काम गर्न निकै चुनौती भएको हामीले महसुस गर्यौ । ” तर समुन्नत र समृद्ध जीतपुरसिमरा निर्माणको जग खडा गरी , कार्य अघि बढाएको र थुप्रै दिर्घकालिन योजनाहरुको प्रक्रिया अघि बढी नतिजा आउने क्रममा रहेको उँहाले जोड्नु भयो।
‘ समृद्ध कृषक , सम्मानित कृषी पेशा’ अभियान मार्फत किसानको जीवनशैली उत्थान गरी कृषी मार्फत समृद्धिको अभियानमा जीतपुरसिमरालाई अघि बढाउने , ‘मेयर छात्रवृति कार्यक्रम’ अन्तरगत उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान र प्रोत्साहन गर्ने, शिक्षा , स्वास्थ्य ,फोहोर व्यवस्थापन, युवा स्वरोगार , महिला सशक्तिकरण , भूमिहीनलाई लालपुर्जा वितरण, नगर अस्पताल र श्रमिक अस्पताल निर्माण लगाएतका एजेण्डाहरु प्रमुख प्राथमिकतामा रहेको उँहाले बताउनु भयो।
आफै एउटा आदिबासी जनजाती समुदायकी छोरी हुनाले महिलाहरु विशेषतः मधेशी, थारु, दलित, धांगड तथा सीमान्तीकृत समुदायका छोरी बुहारीहरुलाई समाजका हरक्षेत्रमा अग्रभागमा ल्याउनका अवसर र जिम्मेवारीको व्यवस्थापन गर्नेमा आफु थप प्रतिबद्ध रहेको उँहाले बताउनु भयो।
विगतका दिनमा बाहिरबाट जीतपुरसिमराको साखलाई कमजोर बनाउन लागिपरेका व्यक्तिहरु महत्वाकांक्षी योजना लिएर चुनावी मैदानमा आएका भन्दै त्यस्ता ब्यक्ति र तत्वहरुबाट सजग रहन उँहाले आम जनसमुदायमा अपिल पनि गर्नु भयो। नगर प्रमुखमा निर्वाचित भएपश्चात जनताको मत र भावनाको सम्मान गर्दै आफ्नो जिम्मेवारीबाट समृद्ध जीतपुरसिमरा बनाउने यात्रामा सहकार्य गर्ने संकल्प गर्दै आगामी ३० गते हुने निर्वाचनमा प्रमुख, उप प्रमुख सहित २४ वटै वडामा नेकपा एमालेका उमेदवारहरुलाई बिजयी गराउन उँहाले अपिल गर्नुभयो।नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एबम पूर्व उप प्रधानमन्त्री इश्वर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न चुनावी सभामा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल , ज्वाला साह , मधेश प्रदेश सदस्य देव नारायण चौधरी , कलाकार पूर्णकला बि. सी लगाएत ठूलो संख्यामा उपस्थिति थियो । नेकपा एमाले जितपुरसिमरा निर्वाचन परिचालन कमिटिका संयोजक मनोज पौडेलको अध्यक्षतामा सम्पन उक्त कार्यक्रमको संचालन जीतपुरसिमरा नगर कमिटीका सचिव रत्न प्रसाद उप्रेतीले गर्नु भएको थियो।