परीक्षा प्रणालीमा देखिएको समस्या सुधार्न अनेरास्ववियुको माग

२०७९ श्रावण २, सोमबार प्रकाशित

नेकपा एमाले समर्थित विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले परीक्षा प्रणालीमा देखिएको समस्यालाई रोक्न त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रकलाई आग्रह गर्दै मागपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा विभिन्न १० माग समावेश गरिएका छन् । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालद्वारा हस्ताक्षरित मागपत्रमा प्रश्नपत्र निर्माणमा देखिएको विकृति र लापरवाहीलाई रोक्न विज्ञलाई जवाफदेही बनाउने गरी प्रणालीगत सुधार गर्नुका साथै प्रश्न बैङ्कलाई वैज्ञानिक बनाउन माग गरिएको छ ।

पछिल्ला समयमा त्रिविका विभिन्न तह र विषयका प्रश्नपत्र निर्माणमा निकै त्रुटि देखिँदै आएको छ । प्रश्नपत्र निर्माणमा देखिएको गैरजिम्मेवार कार्यप्रति त्रिवि त्यति जिम्मेवार देखिएको पाइएको छैन । त्रुटि गर्ने प्रश्नपत्र निर्माणकर्ताको नामसमेत सार्वजनिक गरिएको छैन भने आँशिक रूपमा अध्यापन गर्नेहरूलाई प्रश्नपत्र निर्माणमा प्रयोग गरिएको पाइएको छ ।

अनेरास्ववियुले अनुशासन भङ्ग गर्ने परीक्षाकेन्द्र, मिलेमतो गर्ने शिक्षक तथा कर्मचारीको अध्ययन गरी प्रतिवेदन गरी सार्वजनिक गर्न माग गरेको छ ।

त्रिविले निर्धारण गरेका परीक्षा केन्द्र सम्भव भएसम्म विद्यार्थीलाई पायक पर्ने र एउटै सवारी साधनको प्रयोगबाट पुग्न सकिने स्थानमा निर्धारण गर्न माग गरिएको छ ।

परीक्षा सम्पन्न भई १२० दिन पूरा भइसकेका सबै तहका परीक्षाको परीक्षाफल ४५ दिनभित्र सार्वजनिक गर्न माग गर्दै सबै तहका सबै परीक्षाको परीक्षाफल बढीमा तीन महिनाभित्र प्रकाशित गर्न माग गरिएको छ ।

पनिकाले सञ्चालन गर्दै आएको प्राइभेट परीक्षाका कार्यक्रम हाल विनाविकल्प बन्द गरिएकाले सो तत्काल खुला गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।                                                 –  पेश गरिएको माग पत्र –

श्रीमान् परीक्षा नियन्त्रकज्यू
परीक्षा नियन्त्रण कार्यालय
त्रि.वि बल्खु काठमाण्डौँ

विषय : माग पत्र पेस गरेको बारे ।
नेपाली विद्यार्थी आन्दोलनको मूल प्रवाह, शैक्षिक आन्दोलनको नेता सङ्गठन अनेरास्ववियुले हरेक क्षेत्रका विकृति र विसङ्गतिका विरुद्ध आवाज बुलन्द गर्दै आएको सर्वविदितैै छ । शैक्षिक क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको अन्त्यका लागि साथै शैक्षिक सुधारका सृजनात्मक कदमका पक्षमा दृढतापूर्वक लागि परेका इतिहास पनि दोहो¥याइ रहनु पर्दैन । हामी “सुखी नेपाली समृद्ध नेपाल” को राष्ट्रिय आकाङ्क्षा गुणस्तरीय शिक्षाबाट मात्रै सम्भव हुन्छ भन्नेमा पूर्ण विश्वस्त छौँ । विडम्बना आज नेपालको शैक्षिक क्षेत्र माफिया र दलालहरूको रङ्गमञ्च बन्दै गएको छ, सार्वजनिक शिक्षालाई खुइलाएर, निजीकरणलाई पोस्न सरकारी मुखुण्डो ओडेर, निजी स्वार्थको सुँड घुसाउने सुलसुले हात्तीहरूबाट त्रि.वि.लाई बचाउनु पर्ने आजको आवश्यकता हो । त्यस्तै राजनीतिक दलगत छद्म छाताभित्र छिपेर, राज्यसत्ताको आँडमा विश्वविद्यालयलाई अनन्तकालीन तालाबन्दीको दुश्चक्रमा फसाँउने र अन्ततः सार्वजनिक विश्वविद्यालयलाई विघटन गरी निजी क्षेत्रलाई पोस्ने हर्कतहरू पनि दिनानुदिन बढेका छन् । यसैगरी त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय बल्खु पनि दलाल, माफिया र अप्राज्ञिक व्यक्तिहरूको बदनियतपूर्ण कार्यहरूबाट घेरिँदै गएको विगतका केही घटनाहरूले पुष्टि गर्दछ । वर्षौँ अगाडिका समस्याहरू जहाँको त्यही छन् । यस्तो अवस्थामा यी यावत् षड्यन्त्रको जालोलाई तोड्दै विश्वविद्यालयलाई Center of Excellence बनाउन र विश्वविद्यालयलाई युगानुकूल रूपान्तरण गरी विद्यार्थीहरूलाई विश्वशनीय र गुणस्तरीय सेवा प्रवाह गर्न त्रि.वि. परीक्षा नियन्त्रक समक्ष अनेरास्ववियु निम्नलिखितका मागहरू पेस गर्दछ । यो माग पत्र पेस गर्नका लागि मात्र होइन, कार्यान्वयनका लागि हो त्यसैले यी मागहरू गम्भीरतापूर्वक पूरा गर्न अनेरास्ववियु जोडदार माग गर्दछ । यी मागहरूलाई वेवास्ता गरी गैरजिम्मेवार बनेमा एउटा जिम्मेवार सङ्गठनको नाताले अनेरास्ववियुले जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने कुराको चेतावनी दिन चाहन्छौँ ।
हाम्रा मागहरू
1. प्रश्नपत्र निर्माणमा देखिएको विकृति र लापरवाहीलाई रोक्न विज्ञलाई जवाफदेही बनाउने गरी प्रणालीगत सुधार गरियोस् साथै प्रश्न बैँकलाई वैज्ञानिक बनाइयोस् ।
2. अनुशासन भङ्ग गर्ने परीक्षाकेन्द्र, मिलेमतो गर्ने शिक्षक, कर्मचारीहरूको अध्ययन गरी प्रतिवेदन तयार गरी सार्वजनिक गरियोस् । साथै त्रि.वि.ले निर्धारण गरेका परीक्षा केन्द्रहरू सम्भव भएसम्म विद्यार्थीलाई पायक पर्ने र एउटै सवारी साधनको प्रयोगबाट पुग्न सकिने स्थानमा निर्धारण गरियोस् ।
3. प्रत्येक जिल्लाभित्रको परीक्षा केन्द्र सम्बन्धित जिल्लाभित्रै परीक्षा सञ्चालन गर्ने गरी व्यवस्था गरियोस् ।
4. विद्यार्थीहरूलाई सजिलो हुनेगरी यस कार्यालयबाट प्रदान गरिने सेवालाई विस्तृत रूपमा उल्लेख गरी एक हप्ताभित्र नागरिक बडापत्र तयार पारी उपयुक्त ठाउँमा प्रस्ट रूपमा देखिने गरी राखियोस् ।
5. परीक्षा दिएर १२० दिन पूरा भैसकेका सबै तहका परीक्षाको परीक्षाफल ४५ दिन भित्रमा प्रकाशित गरियोस् साथै सबै तहका सबै परीक्षाको परीक्षाफल बढीमा तीन महिनाभित्रमा प्रकाशित गरियोस् ।
6. आवश्यक कागजातसहित प्रक्रिया पूरा भएका विद्यार्थीहरूको प्रमाणपत्र २४ घण्टाभित्र दिने व्यवस्था गरियोस् ।
7.विविध कारणवश निर्धारित शैक्षिक वर्ष भित्र तह पुरा गर्न नपाएका विद्यार्थीहरूलाई समयसमयमा मौका परीक्षाको व्यवस्था गरियोस् ।
8. प.नि.का ले उपलब्ध गराउने सबै सेवाहरूलाई इलष्लिभ बाट पनि सुचारु गरियोस् ।
9. प.नि.का ले सञ्चालन गर्दै आएको प्राइभेट परीक्षा कार्यक्रमहरू हाल विनाविकल्प बन्द गरिएकोले हजारौं बिद्यार्थीहरू काम गर्दै स्वअध्ययन गर्ने अधिकारबाट बञ्चित भएकोले निश्चित आधार तयार गरी तुरुन्त खुल्ला गरियोस् ।
10. २४ सै घण्टा विद्यार्थीका गुनासा र समस्या सुन्न र सम्बोधन गर्न १५ दिनभित्र हटलाईन सेवाको व्यवस्था गरियोस् ।
हार्दिक अभिवादन सहित !
बोधार्थ
उपकुलपतिको कार्यालय, त्रि.वि., कीर्तिपुर ।
शिक्षाध्यक्षको कार्यालय, त्रि.वि., कीर्तिपुर ।
रजिस्ट्रारको कार्यालय, त्रि.वि, कीर्तिपुर ।
प्राज्ञिक परिषद्को कार्यालय, त्रि.वि., कीर्तिपुर ।

……………………….
सुनिता बराल
अध्यक्ष

Write your Comment