बारा ३ जेष्ठ :
३२औं मदन-आश्रित स्मृति दिवस तथा निर्मल क्षेत्रीको सम्झनामा नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले शनिबार डुमरवानामा विचार गोष्ठी कार्यक्रमको आयोजना गरेको छ।
एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले एमालेका तत्कालीन महासचिव कमरेड मदन कुमार भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिस्ट आन्दोलनका साथसाथै विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले पूर्वी युरोपमा कम्युनिस्टहरुले धक्का खाइरहेको बेला मदन भण्डारीले अगाडि सारेको जबजले नयाँ उर्जा थपेको स्पष्ट पार्नुभयो । उहाँले जीवराज आश्रित कुशल संगठन समेत रहेको जानकारी गराउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री ज्वालाकुमारी साहले पार्टीलाई सबै मिलेर अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्व नगर इन्चार्ज मञ्जु थापाले नगर कमिटीले मिसन ८४ लाई सफल बनाउन एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।
त्यसैगरी कार्यक्रमलाइ सम्बोधन गर्दै एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलले ३२ बर्ष अघि मदन भण्डारिले अघि सारेको जनताको बहुदलीय जनवाद कार्यक्रम अहिले पनि त्यति नै सान्दर्भिक भएको उल्लेख गर्नुभयो । उहाँले सामन्तवाद साम्राज्यवादको उत्पीडनबाट जनतालाई मुक्ति दिलाउनको लागि जबज कोसेढुंगा साबित भएको स्पष्ट पार्नुभयो। उहाँले निर्मल क्षेत्रीले बारा जिल्लाको पार्टीमा ठूलो योगदान दिएको उल्लेख गर्दै विद्यार्थी आन्दोलनको जग समेत बसालेकोले सबैले स्मरण गर्नुपर्ने कुरामा जोड दिनुभयो । नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरु देवनारायण चौधरी,चयन गुरुङ , एमाले जिल्ला सचिवालय सदस्य तथा पूर्व नगर अध्यक्ष भोलाप्रसाद अधिकारी लगायतले मदन भण्डारी – जिवराज आश्रित र निर्मल भट्टको योगदानको चर्चा गर्नु भएको थियो । कार्यक्रमको उपमहानगर कमिटीका सचिव रविन्द्रराज भण्डारीले सहजीकरण गर्नुभएको थियो।