बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित बकुलिया खेलकुद मैदानको पर्खाल निर्माण कार्यको शिलान्यास गरिएको छ। सोमबार मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले एक कार्यक्रमका बीच पर्खाल निर्माणको शिलान्यास गर्नुभयो। मधेस प्रदेश सरकार अन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयको ७५ लाख रुपैयाँ बजेटबाट पर्खाल निर्माण कार्य सुरुहुन लागेको वडा नम्बर ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार पर्खाल निर्माणका लागि उपभोक्ता समिति समेत गठन गरिएको छ, जसले निर्माण प्रक्रिया पारदर्शी र प्रभावकारी रूपमा अगाडि बढाउनेछ।
शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य देवनारायण चौधरीले भने, “खेलकुद क्षेत्रको विकाससँगै युवाहरूको भविष्य उज्ज्वल बनाउन हामी प्रतिबद्ध छौं। संरक्षित मैदानले खेलाडीहरूलाई अभ्यास र प्रतियोगिता दुवैमा सहजता ल्याउनेछ।” उहाँले थप्नुभयो, “यो पर्खाल निर्माणले मैदानको सुरक्षासँगै यहाँका खेलाडीहरूको प्रतिभा निखार्ने वातावरण तयार पार्नेछ। भविष्यमा खेल मैदानमा भौतिक पूर्वाधार विस्तारका योजना पनि रहेको चौधरिको भनाइ छ ।
शिलान्यास कार्यक्रममा जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, नेपाली कांग्रेसका नगर सभापति छविलाल शर्मा, नेकपा एमाले ५ नम्बर वडाका अध्यक्ष कृष्ण चौधरी लगायतको उपस्थिति रहेको थियो।