जीतपुरसिमरा उपमहानगरपालिकाको १२औं नगरसभा दुई अर्ब एक लाख विनियोजन बजेट प्रस्तुत गरिएको छ । नगरसभामा उपप्रमुख भोलाप्रसाद अधिकारीले बजेट प्रस्तुत गरेका हुन ।
जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब १ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। बुधबार बसेको नगरसभामा उपप्रमुख भोला प्रसाद अधिकारीले बजेट प्रस्तुत गर्दै समावेशी विकास, पूर्वाधार विस्तार र जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
आन्तरिक आम्दानी ४७ करोड, बाँकी अनुदानमार्फत पूर्ति
उपमहानगरले ४७ करोड ४० लाख रुपैयाँ आन्तरिक आम्दानीको लक्ष्य राखेको छ। बाँकी रकम संघीय र प्रदेश सरकारबाट प्राप्त समानीकरण, विशेष तथा अन्य अनुदानमार्फत जुटाइनेछ।
वडास्तरमा ३० करोड विनियोजन
२४ वटै वडाका लागि न्यूनतम ५० लाखदेखि अधिकतम १ करोड १२ लाख रुपैयाँ बजेट छुट्याइएको छ। नगरस्तरको योजनाका लागि अतिरिक्त ८ करोड ४० लाख छुट्याइएको छ।
शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता
गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ भने छात्रवृत्तिका लागि ४० लाख छुट्याइएको छ। स्वास्थ्य क्षेत्रमा १५ शैयाको अस्पताल सञ्चालनका लागि ९ करोड रुपैयाँ छुट्याइएको छ। महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्तासमेत समावेश गरिएको छ।
कृषिमा व्यवसायिकरण, पर्यटन र खेलकुदमा लगानी
कृषि योजनामार्फत प्रविधियुक्त अभ्यास, बीउ–बिजन, तालिम, अनुदान तथा सिँचाइ पूर्वाधारमा जोड दिइएको छ। खेलकुद पूर्वाधार विकास र अमलेखगञ्ज पर्यटन प्रवर्द्धनका लागि १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ।
सामाजिक समावेशीकरण र पूर्वाधारमा ठोस योजना
पछाडि पारिएका समुदायहरूका लागि सीप विकास, स्वरोजगार तथा अनुदान कार्यक्रम सञ्चालन गरिनेछ। कुमारी आवास कार्यक्रमका लागि १ करोड छुट्याइएको छ। खानेपानी र सडक सुधार लगायतका पूर्वाधार योजनामा ७ करोड ५० लाख विनियोजन गरिएको छ।
जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नगर प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई ,वडा अध्यक्ष, कार्यपालिका सदस्य र नगरसभा सदस्यको उपस्थिति रहेको थियो।