वीरगञ्जको दसैँ मेलामा दुइ समुह बिच फाइट : एक जनाको मृत्यु,दश जना पक्राउ

२०८२ आश्विन १५, बुधबार प्रकाशित

वीरगञ्ज १५ असोज :
वीरगञ्जको गहवामाई मन्दिर नजिकैको दसैँ मेलामा मङ्गलवार राति युवाहरूको दुई समूहबिच भएको झडपमा एक युवकको ज्यान गएको छ ।

मृतक बाराको परवानीपुर गाउँपालिका–५, बहुअरीका २२ वर्षीय शीवम साह कानु (गोल्डेन खान) रहेको पहिचान खुलेको भएको छ । उनी हाल वीरगञ्ज महानगरपालिका–१० मा डेरामा बस्दै आएका थिए र पेसाले ई–रिक्सा चालक थिए । मृतकका बुबा हिन्दु र आमा मुस्लिम रहेको बताइएको छ ।

प्रहरीका अनुसार, मङ्गलवार राति ११:४५ बजे माईस्थानबाट गीता मन्दिरतर्फ जाने बाटोमा मेलामा घुमिरहेका युवाहरूबिच विवाद भएको थियो । विवादले उग्र रूप लिँदा कुटपिट भएको र शीवममाथि बाँसको लट्टीले प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
गम्भीर घाइते भएका उनलाई नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले तत्कालै दश जना युवालाई नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले घटना ‘ग्याङ फाइट’ नभई एक व्यक्तिलाई लक्षित गरी आक्रमण भएको बताए । दुवै समूहहरूबिच पुरानो रिसिइबिका कारण भएको झडपका क्रममा घटना भएको एसपी पाठकले बताए ।
“सुनियोजित आक्रमणजस्तो देखिन्छ । दश जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । त्यसमध्येबाट सबैको प्रत्यक्ष संलग्नता भने देखिएको छैन । हामी अनुसन्धान गरिरहेका छौँ । पोस्टमार्टम पश्चात् अझै जानकारी दिन सकिन्छ,” उनले भने । अनुसन्धान जारी रहेको कारण पक्राउ परेकाहरूको पहिचान खुलाउन नमिल्ने पनि उनले बताए ।

घटना गहवामाई मन्दिरबाट केही सय मिटरको दूरीमा भएको हो । यस क्षेत्रमा दसैँ मेलाको अवसरमा प्रहरीको बाक्लो उपस्थिति रहने गरेको छ । यस्तो संवेदनशील स्थानमा भएको कुटपिट र एक युवकको मृत्युले पर्सा प्रहरीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।

मेला जस्तो भिडभाड हुने स्थानमा समेत यस्तो अपराध नियन्त्रण गर्न नसक्नुले जिल्लाको अन्य क्षेत्रमा बस्ने बासिन्दाहरूको सुरक्षाको चिन्ता थपिएको छ । प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाएर दोषीलाई कडा कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।

Write your Comment