नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले ११ औं महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गर्दै सम्पन्न भएको छ।
तीन दिनसम्म राजधानीमा जारी बैठक ले त्यसका साथै विभिन्न निर्णय समेत गरेको छ।
पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ गतेदेखि २९ गतेसम्म महाधिवेशन गर्ने घोषणा गर्नुभएको हो ।
यसैगरी अध्यक्ष ओलीले पेश गर्नुभएको राजनीतिक प्रतिवेदन समेत पारित गरिएको छ। सो प्रतिवेदन पारित गर्ने क्रममा भने विवाद देखा परेको थियो।
अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पारित भएको जनाउ दिँदै केन्द्रीय सदस्यहरूले ताली बजाएपछि नेताहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले उठेर आफूहरूको फरक मत रहेको बताएका हुन्।
अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटनको विरोध गर्दै पुनर्स्थापनाको मुद्दा पार्टीले अघि बढाउने गरी राजनीतिक प्रतिवेदन पेस गरेका थिए र सोही प्रतिवेदन पारित भएपछि नेताहरू ज्ञवाली र शाक्यले विरोध गरेका हुन्।
ज्ञवाली र शाक्यले फरक मतका रूपमा प्रतिनिधि सभा पुनर्स्थापनाभन्दा पनि चुनावमा भाग लिनुपर्ने कुरा राखेका छन्।
सरकारले फागुन २१ गतेका लागि चुनाव घोषणा गरेकोले केन्द्रीय कमिटीले चुनावमा जाने निर्णय गर्नुपर्ने उनीहरूको भनाइ थियो।