शिक्षा केवल प्रमाणपत्रकालागि मात्र नभै जीवन उपयोगी बनाउनु पर्छ : पुर्वमन्त्री पौडेल

२०८२ पौष १८, शुक्रबार प्रकाशित

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ रजघट्टास्थित जनता माध्यमिक विद्यालय पछिल्ला वर्षहरूमा प्राविधिक शिक्षा र रोजगारीसँग प्रत्यक्ष जोडिने शिक्षालयका रूपमा अगाडि बढिरहेको छ। यही परिवर्तित यात्राको समीक्षा र उपलब्धिको सार्वजनिक घोषणा स्वरूप विद्यालयले बिहीबार ४० औँ स्थापना दिवस तथा ४१ औँ अभिभावक दिवस संयुक्त रूपमा मनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल रहनुभएको थियो । कार्यक्रममा बोल्दै पौडेलले शिक्षा केवल प्रमाणपत्रका लागि होइन, जीवन उपयोगी बनाउनुपर्नेमा जोड दिनु भयो । उहाँले युवाहरुको विदेश पलायनले देश बौद्धिक रूपमा कमजोर बन्दै गएको उल्लेख गर्दै स्वदेशमै सीप र ज्ञानको प्रयोग गर्न सके मात्र समृद्धि सम्भव हुने बताउनु भयो। “शिक्षा भागबन्डाको विषय होइन, जति उपयोग गर्यो उति नै मूल्यवान् हुन्छ,” उहाले भन्नुभयो । कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी, अभिभावक, शिक्षक–शिक्षिका तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चयन गुरुङको अध्यक्षतामा सम्पन्न समारोहको सञ्चालन सहायक प्रधानाध्यापक बरुण गौतमले गर्नुभएको थियो ।

Write your Comment