निर्वाचन आयोगले तीन वटा बिषयका आधारमा गगन पक्षलाई दियो वैधानिकता

२०८२ माघ २, शुक्रबार प्रकाशित

काठमाडौं २ माघ :

निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन थापा पक्षले गरेको विशेष महाधिवेशनलाई तीन वटा बिषयका आधारमा मान्यता दिएको छ।
२७ देखि ३० पुससम्म काठमाडौंमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भएको थियो । सो महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेपछि त्यसको अद्यावधिक गराउन उनीहरूले बिहीबार आयोगलाई निवेदन दिएका थिए । लगत्तै १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विशेष महाधिवेशन विधानविपरीत आयोजना गरिएको भन्दै आयोग पुगेको थियो ।

आयोगले शुक्रबार दुवै तर्फबाट प्राप्त कागजात,पार्टीको विधान तथा ऐन–कानुनको अध्ययनपछि थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको छ ।

यो निर्णय दिने क्रममा आयोगले तीन आधार तय गरेको छ ।

पहिलो आधारका रूपमा आयोगले विधान बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने र सोअनुसार महाधिवेशन आयोजना गर्नु पर्ने बाध्यात्मक व्यवस्था रहेको स्पष्ट पारेकोे छ ।

दोस्रो आधारको रूपमा आयोगले विधानत: महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि हुने स्पष्ट पारेको छ ।

यस्तै, तेस्रो आधारका रूपमा आयोगले विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति नदेखिएकोले विशेष महाधिवेशन आयोजना विधानत: भएको स्पष्ट पारेको छ ।

Write your Comment