बारा २४ माघ :
नेकपा एमाले निर्वाचनलाई केन्द्रित गरेर युवा सङ्घ बारा क्षेत्र नम्बर ४ को क्षेत्रीय भेला आज सिमरामा भव्य रूपमा सम्पन्न भएको छ। भेलामा युवाहरूको अत्यन्त उत्साहजनक सहभागिता रहेको थियो।
भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सामाजिक रूपान्तरणका लागि नेकपा एमालेले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले युवाहरूका हरेक समस्याहरू समाधान गर्नको लागि एमाले तयार रहेको स्पष्ट पार्दै फागुन २१ गते हुने निर्वाचनमा एमालेका सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन सबै एकजुट हुनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सदस्य तथा बारा क्षेत्र नम्बर ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानले क्षेत्रका जनताको आफू सुख दुःखको साथी भएको उल्लेख गर्दै युवाको रोजगारी पूर्वाधार,शिक्षा, स्वास्थ्यका लागि आफूले सडकदेखि सदनसम्म कुरा उठाएको र धेरै समस्या समाधान समेत गरेको फेरिस्ट पेश गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले युवाका हरेक समस्या पूरा गर्न एमाले प्रतिबद्ध रहेको र राष्ट्रियताको लागि एमालेले मात्रै अडान राखेको ले एमालेमाथि देशी विदेशी शक्तिले घेराबन्दी गरेको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा केन्द्रीय कमिटी सदस्यहरू एकवाल मिया मोबिन आलम, एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, एमाले जितपुर सिमराका अध्यक्ष त्रिलोक विक्रम शाह,युवा सङ्घका नेताहरू भावना आचार्य, राम यादव सद्दाम अन्सारी,सुनिल गुप्ता, भर्खरै मात्र रास्वापा परित्याग गरी एमाले प्रवेश गर्नुभएका श्यामसुन्दर पण्डित लगायतले बोल्नुभएको थियो। कार्यक्रम आरिफ हुसेनको अध्यक्षतामा र विकास शाहको सहजीकरणमा सम्पन्न भएको थियो ।
