कांग्रेस सभापति गगन थापाले दिए राजीनामा,अस्वीकृतका लागि प्रस्ताव पेश गरिने

२०८२ चैत्र ५, बिहिबार प्रकाशित

नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

रास्वपाले झन्डै दुई तिहाइ सिट प्राप्त गर्दा दोस्रो भएको कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ । साथै थापा सर्लाही-४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरे ।

चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।
कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बोलाइएको छ। बैठकको अध्यक्षता उपाध्यक्ष विश्व प्रकाश शर्माले गर्नेछन्। बैठकमा शर्माले थापाको राजीनामाको विषय जानकारी गराउँदै राजीनामा अस्वीकृतका लागि प्रस्ताव पेश गर्नेछन्।

थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा निर्वाचित भएका थिए ।

Write your Comment