काठमाडौँ, १९ जेठ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य पदम राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
आइतबार बिहान नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई पार्टीमा भित्रयाउनु भएका हुन ।
भोजपुर निवासी राई पूर्वराज्यमन्त्री समेत हुन् । उनी शान्ति प्रक्रियापछि आवास तथा भौतिक योजना राज्यमन्त्री पनि भएका थिए । २०६४ को संविधानसभा निर्वाचनमा भोजपुर–१ बाट उनले संविधासभा सदस्य जितेका थिए । राई तत्कालिन नेकपा माओवादीनिकट किराँत राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष पनि भएका थिए ।
गत निर्वाचनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई चुनावी प्रचारका क्रममा आक्रमण गरेको आरोपमा उनी पक्राउ परेका थिए । मोरङमा पक्राउ परेका उनी ६० हजार धरौटीमा रिहा भएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा राईले विप्लवले क्रान्ति गर्न नसक्ने, अहिलेको हिंसात्मक बाटोबाट जनता र देशको हित हुन नसक्ने निष्कर्षका साथ नेकपामा प्रवेश गरेको बताए । नेकपा नेतृत्वको वर्तमान सरकारले नै जनताका आवश्यकता पूरा गर्न सक्ने र अहिले देशलाई बलियो कम्युनिष्ट पार्टी चाहिएकोले आफू नेकपामा समाहित भएको राईले बताए ।
उनले आफ्नो अबको राजनीनितक यात्रा देश र जनताको लागि समर्पित गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
उनलाई पार्टीमा भित्र्याउँदै अध्यक्ष प्रचण्डले राईले सही समयमा उचित निर्णय गरेको बताए । राईलाई हिजोेको त्याग, तपस्या र योगदानको आधारमा समुचित जिम्मेवारी दिने अध्यक्ष प्रचण्डले बताए ।
आफ्ना सन्तान अभिभावकसँग रिसाएर, झगडा गरेर हिँडेपनि अभिभावकलाई दिनभर उसकै चिन्ता लाग्ने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अभिभावकलाई आफ्ना छोराछोरी रिसाएर, झगडा गरेर गएपनि दिनभर उसकै चिन्ता लाग्छ । के खायो होला, के गर्यो होला ? भन्ने हुन्छ । बेलुका टुप्लुक्क घर आइपुगेछ निकै खुशी हुन्छ, हामी त्यस्तै भएका छौँ असाध्यै खुशी भएका छौँ ।’
उनले बलियो कम्युनिष्ट पार्टीले नै जनता र देशको हित गर्ने भन्दै समृद्ध नेपाल र सुखी नेपालीको अभियान पुरा गर्न राईको पार्टी प्रवेशले पनि सघाउने बताए ।