काठमाडौ १श्रावण
सत्तारुढ दल नेकपाले पार्टी एकताको घोषणा भएको १४ महिनापछि पार्टीको सम्पुर्ण एकता प्रक्रियामा समझदारी जुटाएको छ। दुई अध्यक्षबीच आइतबारयता लगातार भएको छलफलले जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभागमा भागबन्डालगायत सबै प्रक्रियामा समझदारी जुटाएको हो।
अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलको समेत सहभागितामा एकताका बाँकी काममा समझदारी जुटाउनु भएको हो । एकतालाई पूर्णता भने साउन ५ गते बस्ने सचिवालय बैठकले दिनेछ।
अध्यक्षद्वयले यो प्रक्रिया टुंगोमा पुर्याउन वरिष्ठ नेता माधव नेपालसँग पनि छुट्टै परामर्श गरेका थिए। जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभाग गठनलगायत सबै प्रक्रिया टुंगो लागेको महासचिव विष्णु पौडेलले जानकारि दिनु भयो। एकताका सम्पूर्ण प्रक्रिया अब टुंगिएको छ’, महासचिव पौडेलले भन्नु भयो, ‘अब तुरुन्तै पार्टी सचिवालय बैठक बसेर टुंगिएको प्रस्ताव अनुमोदन गरेर सार्वजनिक गर्ने उहाको भनाइ थियो ।
नेकपाका ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्ज, ३२ केन्द्रीय विभाग, ३ केन्द्रीय आयोग, केन्द्र्रीय सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद्, प्रदेशस्तरीय विशेष कमिटी गठनका काम बाँकी थियो।
३२ केन्द्रीय विभागमध्ये १८ मा पूर्व एमालेले र १४ मा पूर्व माओवादीले पाउने भएका छन्। यस्तै ३ केन्द्रीय आयोगमा २ पूर्व एमाले र १ पूर्व माओवादीको भागमा परेको छ। ७७ जिल्ला इन्चार्जमा ४४ पूर्व एमाले र ३३ पूर्व माओवादीले पाएका छन्।
जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिँदा कुन मापदण्डका आधारमा दिने भन्नेमा नेताहरूबीच लामो समय विवाद भएपछि प्रक्रिया लम्बिएको थियो। वरिष्ठ नेता नेपालले दोहोरो जिम्मेवारीका आाधारमा केन्द्रीय सदस्यको कार्यविभाजन गर्न नहुने अडानमा रहेपछि साबिक दुवै पार्टीका जिल्ला इन्चार्ज र सहइन्चार्ज रहेका नेतालाई नै जिम्मेवारी दिने गरी सहमति भएको थियो।
जिल्ला अध्यक्ष र सचिव चयन गर्दा पनि नेताहरूबीच विवाद देखिएपछि साबिक जिल्ला अध्यक्ष र सचिवबाटै नेतृत्व दिने समझदारीमा जिल्ला कमिटी गठन गरिएको थियो। अहिले जिल्ला इन्चार्ज र सहइन्चार्जमा पनि त्यही विधि अवलम्बन गरी नेकपाले केन्द्रीय सदस्यलाई कार्यविभाजन गरेको हो। उसले कुन नेताले कहाँ के जिम्मेवारी पाए अहिले गोप्य राखेको छ।
सचिवालय बैठकपछि मात्र टुंगिएको कार्यविभाजन प्रस्ताव छलफलमा ल्याई अनुमोदन गर्ने र त्यसपछि मात्र सार्वजनिक गर्ने तयारी नेकपाको छ। बैठक साउन ५ गतेका लागि तोकिएको छ। पूर्व माओवादीले पाएको भागबन्डामा अध्यक्ष दाहाल र पूर्व एमालेले पाएको भागबन्डामा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेता माधव नेपालसँगको समेत समझदारीका आधारमा नाम चयन गरिने जनाइएको छ ।
केन्द्रीय विभागको नेतृत्वमा करिब ५५–४५ प्रतिशतका आधारमा भागबन्डा लगाई जिम्मेवारी बाँडफाँड लगाइएको नेकपा स्रोतले बतायो। नेकपाका ३२ केन्द्रीय विभाग छन्। संगठन, आर्थिक, विदेश, प्रचारलगायत विभाग भने उसले सचिवालय सदस्यबाटै नेतृत्व लिने गरी टुंगो लगाएको छ। अन्य विभागको नेतृत्व भने स्थायी समिति सदस्यलाई दिइएको छ। संगठन विभागको नेतृत्वमा नेकपाभित्र पेचिलो विवाद थियो। तत्कालीन नेकपा र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता घोषणा भए पनि एकता प्रक्रिया टुंगिएको थिएन।