जीतपुरसिमरा वडा नम्बर १४ का भूमिहीन तथा सुकुम्बासी परिवारलाई लालपुर्जा दिने प्रक्रिया सुरु

२०८३ कार्तिक १३, बिहिबार प्रकाशित

सिमरा १२ कार्तिक :
बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ । यसैक्रममा उपमहानगरपालिका को वडा नम्बर १४ का ५ सय ७९ जनाको नाम नामेसि भूमि समस्या समाधान आयोगको कार्यालयमा बुझाइएको छ ।

वडाध्यक्ष चयन गुरुङको नेतृत्वमा उपमहानगरपालिकाको भूमि व्यवस्था तथा सहकारी शाखा प्रमुख सुदन चौधरी राजश्व शाखा प्रमुख राम शर्मा पौडेल सहितको टोलीले आवश्यक कागजातसहितको फाइल बिहिवार बारा जिल्ला भुमी समस्या समाधान समितिका प्रतिनिधि मनोहर मिश्रालाई बुझाएको हो ।

उपमहानगरपालिकाको ७१औँ कार्यपालिका बैठकको निर्णयअनुसार वडा नम्बर १४ का १४ जना भूमिहीन दलित, १ सय ३६ जना जिल्ला भूमिहिन सुकुम्बासी र ४ सय २९ जना अव्यवस्थित बसोबासी गरी कुल ५ सय ७९ जनाको फाइल बुझाइएको वडाध्यक्ष गुरुङले बताउनु भयो ।

यसअघि जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १, २, १८ र २१ का भूमिहीन तथा अव्यवस्थित बसोबासीको फाइल बुझाइसकिएको छ । वडा नम्बर १४ को फाइल बुझाइएसँगै हालसम्म पाँचवटा वडाका लाभग्राहीको लालपुर्जा प्राप्त गर्ने प्रक्रिया अघि बढेको छ । वर्षौंदेखि बसोबास गर्दै आए पनि जग्गाको कानुनी स्वामित्व नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयले लामो समयदेखि लालपुर्जाको माग गर्दै आएका छन् । फाइल बुझाइएपछि जग्गाको स्वामित्व प्राप्त हुने आशा बढेको र भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी प्रक्रिया छिटो टुंग्याउने प्रयास भइरहेको वडाध्यक्ष गुरुङले बताउनुभयो ।
स्थानीयले भने लालपुर्जा वितरणको प्रक्रिया लामो समयसम्म नअल्झाउन र आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया छिटो पूरा गर्न सम्बन्धित निकायसँग माग गर्दै आएका छन् ।

Write your Comment

↑