एमाले जितपुर सिमराद्वारा विभिन्न क्षेत्रमा उत्कृष्ट हुनेलाई सम्मान

२०८३ कार्तिक १५, आईतबार प्रकाशित

नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका कमिटीद्वारा विजयादशमी शुभ दीपावली छठ पर्व तथा नेपाल सम्वतको उपलक्ष्यमा आज बाराको सिमरामा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा उपमहानगरभित्रका एसईई र कक्षा १२ परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने पाँच जना विद्यार्थीलाई जनही पाँच हजार रुपैयाँ नगद र कदरपत्रसहित सम्मान गरिएको हो । सम्मानित हुनेमा कक्षा १२ तर्फ सामुदायिक विद्यालयबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमलेखगन्जकी रनिता रुम्बा तथा जनता माध्यमिक विद्यालय रजघट्टाका पंकजकुमार यादव र संस्थागत विद्यालयबाट शुभारम्भ एकेडेमी सिमराका श्रवणकुमार मिश्र रहेका छन् ।

त्यस्तै,एसईईतर्फ सामुदायिक विद्यालयबाट जनता माध्यमिक विद्यालय रजघट्टाका मनिष पनेरु र संस्थागत विद्यालयबाट ब्राइटर एकेडेमीका अंकित साह सम्मानित भएका छन् । यसैगरी, जीतपुरसिमरा उपमहानगरको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गराउन योगदान पुर्‍याएकी कबड्डी खेलाडी गङ्गा चौलागाईंलाई १० हजार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरिएको छ । जापानमा सम्पन्न एसियन गेम्समा सहभागिता जनाएकी चौलागाईं कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन नसकेपछि उक्त सम्मान अर्को कार्यक्रममा प्रदान गरिने नगर कमिटी अध्यक्ष त्रिलोकविक्रम शाहले जानकारी दिनुभयो ।

कार्यक्रम नेकपा एमाले केन्द्रीय सदस्य तथा बारा जिल्ला इन्चार्ज अच्युत मैनालीको प्रमुखाअतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्यहरु ज्वाला शाह, कृष्णकुमार श्रेष्ठ किसान, सीता सुवेदी,मधेश प्रदेश कमिटी सचिव मनोज पौडेल,पूर्व केन्द्रीय सदस्य सरस्वती चौधरी, प्रदेश सभा सदस्य देबनारायण चौधरी,पूर्व प्रदेश सभा सदस्य सुन्दर बिक,जिल्ला सचिव अमृत शर्मा बजगाईं,जितपुर सिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
नगर कमिटीका अध्यक्ष त्रिलोक बिक्रम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण रविन्द्र खकुरेलले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष क्यैमुदिन अन्सारीले गर्नुभएको थियो।

Write your Comment

↑