बाढी पीडितलाई घर र रोजगारी दिने प्रधानमन्त्री ओलीको घोषणा

१७ श्रावण २०७६, शुक्रबार ११:५० प्रकाशित

काठमाडौं १७ श्रावण
प्रदेश २ का बाढी पीडित जनतालाई विशेष राहत तथा रोजगारीको प्याकेज लिएर प्रधानमन्त्री केपी शर्मा ओली आफैं मधेस जाने हुनु भएको छ। शनिवार स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेका ओली त्यहाँबाट फर्केलगत्तै बाढीपीडित क्षेत्रका जनतालाई भेट्न जाने जनाइएको छ ।
प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुको टोलीसँग शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर मधेसको अवस्थाबारे जानकारी लिएका ओलीले आफू राहतको विशेष प्याकेज लिएर बाढीपीडित जनतालाई प्रत्यक्ष भेट्न जाने बताउनु भयो।
प्रधानमन्त्रीले प्रदेश सरकार मार्फत पठाइएको तत्कालको राहत प्रभावकारी रुपमा वितरण नभएको गुनासो आएको भन्दै अब संघीय सरकार आफैं जाने बताउनु भयो। उहाले बाढीले पूरै घर बस्न नहुने गरी क्षति पुगेका जनतालाई सरकारले नै घर बनाइदिने र खेतीबाली नष्ट भएका पीडित परिवारका कम्तिमा एकजनालाई रोजगारी समेत दिइने बताउनु भयो ।
प्रधानमन्त्री समक्ष बाढीपीडित क्षेत्रका सांसदको तर्फबाट नेकपाका प्रदेश २ अध्यक्ष समेत रहेका सांसद प्रभु साहले बाढीपीडित जनतामा संघीय सरकार नदेखिएको बताउनु भयो । उहाले संघीय सरकारले राहतका लागि प्रदेश सरकार मार्फत पठाएको पैसा मधेसवादी दलका कार्यकर्ता मार्फत बाँडिदा वास्तविक पीडितले नपाएको दावी गर्नु भयो ।
नेकपा प्रदेश अध्यक्ष साहले जनताले आफ्नै घर आँगनमा कम्युनिस्ट पार्टीको सरकार देख्नका लागि पनि संघीय सरकारले नै बाढीपीडित जनतालाई राहत दिनुपर्ने बताउनु भयो ।
नेकपाका प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, सहइन्चार्ज विश्वनाथ साह, अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेल,बिकास समिति सभापती  कल्याणि  खडका सहित सो प्रदेशबाट निर्वाचित नेकपाका सांसदले प्रधानमन्त्रीलाई भेटेर मधेसका बाढीपीडितको अवस्थाबारे जानकारी गराएका थिए । भेटमा नेकपाका महासचिव विष्णु पौडेलसमेत सहभागी थिए ।

१७ श्रावण २०७६, शुक्रबार ११:५०  मा प्रकाशित

Write your Comment