काठमाडौँ, २९ भदौ
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस शीर्ष तहका नेताहरुबीच छलफल हुने भएको छ ।
समसामयिक तथा विवादित नागरिकता विधेयकका विषयमा छलफलका लागि प्रधानमन्त्रीले शीर्ष नेताहरुलाई बोलाएको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बैठक हुने तय भएको हो।
नेपाली नागरिकसँग विवाह गरी नेपाल भित्रिएकी महिलाका सन्दर्भमा अंगीकृत नागरिकताको प्रावधानमा दलबीच सहमति हुन सकेको छैन ।
नागरिकता ऐन २०६३ को प्रावधानसहित नागरिकता विधेयक पारित गर्नुपर्ने काँग्रेसको माग छ । यही मागका सम्बन्धमा छलफल गर्न प्रधानमन्त्रीले भेटको कार्यक्रम तय गरेको बताइएको छ।
नेपाली नागरिकसँग विवाह गरी कागजी प्रक्रिया पुगेका विदेशी महिलालाई समयको सीमा तोक्न नहुने काँग्रेसको मत छ । संसदको राज्य व्यवस्था समितिमा काँग्रेसका सांसदहरुले फरक मत राखेपछि शीर्ष नेताबाट टुंगाउनेगरि छलफल चल्दैछ ।