काठमाडौं १९ असोज
आरोपित निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।जिल्ला अदालत काठमाडौंबाट पक्राउ गर्न अनुमति पाएसँगै महरालाई प्रहरीले आइतबार पक्राउ गरेको हो। महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको हो।
महराले सभामुखमा रहेका बेला संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीलाई करणी प्रयास गरेको आरोप लागेको छ। उनीविरुद्ध शाहीले शुक्रबार किटानी जाहेरी दिएकी थिइन्। महराले गत आइतबार शाहीको कोठामा गएर नराम्रो काम गरेको भिडियो सार्वजनिक भएको थियो। घटना सार्वजनिक भएलगत्तै उनले सभामुखबाट राजीनामा दिएका थिए ।
सभामुखको सरकारी निवास बालुवाटारमा रहेका महराविरुद्ध किटानी जाहेरी परेलगत्तै प्रहरीले कडा निगरानी राखेको थियो। नयाँ मुलुकी फौजदारी संहिता अनुसार कसैलाई पक्राउ गर्नुपूर्व अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्छ। रोशनीले दर्ता गराएको सोही उजुरीका आधारमा महरालाई पक्राउ गर्ने अनुमति लिन प्रहरी अदालतमा गएको थियो।
काठमाण्डू जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको उक्त अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए। संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराले आफ्नो कोठामा आएर गरेको ग म्भीर आरोप लगाएकी थिइन्।
तर महराले आफ्नो सचिवालयमार्फत् उनले लगाएका आरोपहरूको खण्डन गरेका थिए। सञ्चारमाध्यमबाट त्यो विषय सार्वजनिक भएपछि सत्तारूढ दल नेकपाले उनलाई सभामुख र सांसद दुवै पदबाट तत्काल राजीनामा गर्न दबाव दिएको थियो।
त्यसपछि घटनाबारे निष्पक्ष छानबिन गर्न सजिलो होओस् भन्दै उनले सभामुख पदबाट राजीनामा दिएका थिए।लिखित राजीनामा दिएपछि स्वतस् सभामुख पदबाट मुक्त भएका महरा अद्यापि सांसद पदमा कायम छन्। बहालवाला सांसदलाई पक्राउ गर्न सभामुख वा कार्यवाहक सभामुखको अनुमति लिनुपर्छ।
अदालतले दशैँको बिदा सुरु भइसकेको अवस्थामा प्रहरीलाई महरालाई पक्राउ गर्न अनुमति दिएको हो। “यो समान्य प्रक्रिया हो। कसैलाई पक्राउ गर्नुअघि अदालतको अनुमति लिनुपर्ने नियम भएकाले प्रहरीले अनुसन्धानका लागि कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो,” श्रेष्ठले भने।
“काठमाण्डू जिल्ला अदालतले त्यसैले अनुमति दिएको हो।” महराबाट आफू भएको दाबी गर्ने ती महिलाले पछि एउटा खासै नचिनिएको न्यूजपोर्टलमार्फत् आफूले आवेशमा आएर त्यसो भनेको भन्दै आफूले लगाएका आरोपहरू फिर्ता लिएकी थिइन्। तर उनले महराले गर्न खोजेको किटानी गर्दै नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा शुक्रवार राति जाहेरी दर्ता गराएकी थिइन्। त्यसपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो। महरा बालुवाटारस्थित सभामुखको सरकारी आवासमै बसिरहेका थिए ।