अयोध्याको विवादित जमिन हिन्दुको भएको सुप्रिम कोर्टको फैसला

२०७६ कार्तिक २३, शनिबार प्रकाशित

एजेन्सी
अयोध्याको विवादित जमिन हिन्दुको भएको सुप्रिम कोर्टको फैसला भारतको सुप्रिम कोर्टले अयोध्याको विवादित भूमि हिन्दुको भएको फैसला गरेको छ । लामो समयदेखि कायम अयोध्याको राममन्दिर–बाबरी मस्जिदसम्बन्धी मुद्दामा सुप्रिम कोर्टले आज फैसला सुनाउदै मस्जिद बनाउन पाँच एकड जमिन दिन पनि आदेश दिएको छ ।पाँच सदस्यीय फुल कोर्टले सर्वसम्मतिमा फैसला सुनाउदै अयोध्यामा राम मन्दिर बनाउने बाटो समेत खुलाइदिएको छ । यो फैसलासँग मुस्जिद बनाउन अयोध्यामै पाँच एकड जमिन उपलब्ध गराउन आदेश दिएको हो । कोर्टले मन्दिर संचालनका लागि एउटा ट्रष्ट बनाउन समेत आदेश दिएको छ ।हिन्दु र मुस्लिम सम्प्रदायबीच अयोध्यास्थित विवादास्पद भूमिलाई लिएर करिब सात दशकदेखि विवाद कायम थियो । हिन्दुले विवादास्पद भूमिमा राम जन्मभूमि भएको दाबी गर्दै आएका थिए भने मुस्लिमले बाबरी मस्जिद भूमिको अडान राख्दै आएका थिए । यही विवादलाई लिएर भारतमा हिन्दु र मुस्लिम बेलाबखत तनाव सिर्जना हुँदै आएको छ । सन् १९९२ डिसेम्बर ६ भाजपा निकट हिन्दु समर्थकहरुले बाबरी मस्जिद भत्काएपछि रामजन्म भूमि विवाद उत्कृर्षमा पुगेको थियो । त्यसपछि भड्किएको हिंसाले सयौंको ज्यान लियो र अकल्पनिय जनधनको क्षति गरेको थियो ।

Write your Comment