काठमाडौं १८ पौष
राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरु तय गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज पनि छलफल जारी राखेको छ । विहिवार राति करिव चार घण्टा बसेको सचिवालय बैठकको निरन्तरताका स्वरुप अहिले पनि बालुवाटारमा सचिवालय बैठक सुरु भएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकले उम्मेदवारको टुंगो लगाउनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार तय गर्ने बताइएको छ । बैठकमा सचिवालय सदस्यहरुले आफ्ना आफ्ना नाम ल्याएपछि बैठकले उम्मेदवार तय गर्न सकेको थिएन ।
विशेषगरी केही प्रदेशमा पूर्वएमाले र पूर्व माओवादी तथा नेताहरुका आ–आफ्ना नामका कारण टुंगो लगाउन सकस परेको छ । उम्मेदवार छान्न सकस परेमा मापदण्ड बनाउने तयारी नेताहरुले गरिरहेका छन् । यद्यपी सहमति मै नाम टुंगो लगाउने तयारी भईरहेको छ । १८ सिटका लागि हुने निर्वाचनमा १६ जना विजयी हुने निश्चित भएपछि आकाक्षी धेरै नै रहेका छन् । माघ ९ गते हुने निर्वाचनका लागि पुस २० गतेसम्म उमेदवारी दिनुपर्ने निर्वाचन कार्यतालिका रहेको छ ।