जितपुरसिमरा १० का अध्यक्ष राउतद्वारा सार्बजनिक जग्गा ब्यक्तिको नाममा कायम गर्न सिफारिस

४ माघ २०७६, शनिबार १९:३८ प्रकाशित

बारा ४ माघ 
सार्वजनिक जग्गामा किर्ते पुर्जा बनाएर चौतर्फी दोहन भईरहेको बेला बाराको जितपुरसिमरा वडा नं १० का वडाध्यक्षले सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गर्न मालपोत कार्यालय कलैयालाई पत्र पठाएको भेटिएको छ ।
जितपुरसिमरा उपमहानगर वडा नं १० का वडाध्यक्ष सरोजकुमार राउतले फिल्डबुकमा पैनी र नहर भनि उल्लेख भएको सार्वजनिक जग्गा सोही वडाका स्थानिय मोतीलाल साह तेलिको नामका कायम गर्न कलैया मालपोतलाई सिफारिस पत्र पठाएका हुन् ।
वडाध्यक्ष राउतले साविक रामपुर टोकनी गाविस वडा नं १, हाल जितपुरसिमरा वडा नं १० को किक्ता नं १८७ को १ बिघा ५ कठ्ठा र किक्ता नं १८८ को १९ कठ्ठा सार्वजनिक जग्गा तेलिको नाममा कायम गर्न सिफारिस गरेको पत्रमा उल्लेख छ । डेढ वर्षअघि नै गरिएको सो जग्गाको सिफारिस हाल अनुसन्धानको कम्रमा पक्ता लागेको हो । सार्वजनिक जग्गा सँगै जोडिएको किक्ता नं ११३, ४४ , ६८ र ९७ को जग्गाको श्रेस्तापुर्जा तेलिको नाममा रहेको छ भने सोही किक्ता सँग जोडिएको किक्ता नं १८७ को १ बिघा ५ कठ्ठा र किक्ता नं १८८ को १९ कठ्ठा जग्गा फिल्डबुकमा नहर भनि उल्लेख छ । फिल्डबुकमा नहर भनि उल्लेख भएको जग्गा पनि तेलिले आफ्नो जग्गासँगै गाभेर भोगचलन गरिरहेका छन् ।
वडाध्यक्ष राउतले कलैया मालपोतलाई गरेको सिफारिस अनुसार तेलिको नाममा पुर्जा बनिसकेको भने छैन्, तर सो जग्गाको भोगचलन भने तेलिले नै गरिरहेका छन् ।
तेलिले दैनिक वडा कार्यालयमा आएर दवाव दिएका कारण आफुले सिफारिस दिएको वडाध्यक्ष राउतले बताए । ‘दिनकै दिन आएर मेरो दिमाक चाट्यो त्यसैले मैले सिफारिस दिएको हुँ, तर प्रकिया अगाडी बढेको छैन्’ वडाध्यक्ष राउतले भने ।आफुले दिएको सिफारिसको गलत भएपनि प्रकिया अगाडी नबढेको अवस्थामा विपक्षीहरुले भने डेढ वर्षपछि आएर दुखं दिएको राउतले आरोप लगाए । सार्वजनिक जग्गा व्यक्तिको नाममा काय गर्न सिफारिस दिएको भन्दै वडाध्यक्ष राउत विरुद्ध कारवाहीको माग सहित गत मंगलवार (पुष २९ गते) अख्तियारमा उजुरी परेको छ ।
वडाध्यक्ष राउतले भने विपक्षीहरुले हरेक कुरामा दुख दिएर अख्तियार उजुरी हाल्ने र कामै गर्न नदिने गरेको बताए । ‘सानो सानो विषयमा अख्तियारमा उजुरी हालेर विपक्षीहरुले कामै गर्न दिदैनन्’ राउतले भने । वडाध्यक्ष राउत राष्ट्रिय जनता पार्टी (राजपा) को तर्फवाट विजयी जीतपुरसिमरा वडा नं १० का वडाध्यक्ष हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका नगरप्रमुख डा. कृष्ण पौडेलले वडाध्यक्षले सार्वजनिक जग्गा व्यक्तिको नामका कायम गर्न सिफारिस गरेको सम्वन्धमा छानविन भईरहेको बताए । ‘सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गर्ने सम्वन्धमा वडाध्यक्षले गरेको सिफारिसको सुचना ढिलोगरी आयो तैपनि हामीले छानविन गरिरहेका छौ’ नगरप्रमुख पौडेलको भनाइ छ ।

४ माघ २०७६, शनिबार १९:३८  मा प्रकाशित

Write your Comment