काठमाडौं १३माघ
सरकारले कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि त्रिभुवन विमानस्थलमा निगरानी बढाएको छ। चीन तथा कोरोनाको संक्रमण भेटिएका देशबाट नेपाल आउने यात्रुसँगै भाइरस भित्रिन सक्ने खतरा बढेपछि विमानस्थलमा थर्मल स्क्यानर सञ्चालनमा ल्याइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विमानस्थलमा रहेको हेल्थ डेस्कमा थर्मल स्क्यानर जडान गरी सेवा सुरु गरेको हो। उक्त स्क्यानरले विमानमार्फत आएका यात्रुको ज्वरो नाप गर्नेछ। सो क्रममा ज्वरो देखिएका बिरामीलाई थप उपचारका लागि अस्पताल लैजाने व्यवस्था गरिएको छ।
थर्मल स्क्यानरले यात्रुहरुको शरिरको तापक्रम अटोमेटिक रुपमा परीक्षण गर्नेछ। विश्व स्वास्थ्य संगठनको समन्वयमा ल्याइएको उक्त थर्मल स्क्यानरले शुक्रबारदेखि यात्रुको ज्वरो नाप्न थालेको हो।
स्क्यानर राख्नुअघि विमानस्थलमा रहेको हेल्थ डेस्कका कर्मचारीले संक्रमण देखिएका देशहरु चीन, जापान, अमेरिका, कोरिया, थाइल्यान्ड, सिंगापुर, मलेसियाबाट आएका शंकास्पद यात्रुको मात्र स्वास्थ्य परीक्षण गरिन्थ्यो। तर, स्क्यानरबाट सेवा सुरु भएपछि सबै यात्रुको अटोमेटिक ज्वरो परीक्षण हुने हेल्थ डेस्कका कर्मचारीले जानकारी दिए।
चीनबाट नेपाल आएका एक अमेरिकी नागरिकलाई कोरोना भाइरसको शंका गरिएपछि विमानस्थलबाट टेकुस्थित शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पतालमा लगिएको छ।
चीनबाट फर्कने क्रममा ती आमेरिका नागरिकलाई विमानमा नै ज्वरो आएको थियो। ज्वरो देखिएपछि उनलाई कोरोनाको शंकामा अस्पताल लगिएको हो।
टेकु अस्पतालमा कोरोनाको आशंकामा अमेरिकाका ती नागरिकसहित तीन जना उपचाररात छन्।
सरकारले कोरोना भाइरसको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएपछि शुक्रराज अस्पतालमा ६ बेडको आइसोलेसन वार्डको स्थापना गरिएको छ। अस्पतालको तयारी र अवस्था बारे तीन दिन भित्र लिखित प्रतिवेदन बुझाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।
चीनको युहान प्रान्तबाट फर्केका एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि सरकारले सर्तकता बढाएको हो।
सरकारले कोरोना भाइरसको उपचारका लागि तयारी अवस्थामा रहन मुलुकभरका सबै अस्पतललाई निर्देशन दिएको छ।