नेकपा सचिवालयको बैठक सम्पन्न : एमसिसि जस्ताको त्यस्तै पास नगर्ने सहमति

१० फाल्गुन २०७६, शनिबार २०:०१ प्रकाशित

काठमाडौँ १० फागुन

अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जनका लागि नेकपाको नेतृत्वतहमा सहमति जुटेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा एमसीसी परिमार्जनका लागि सहमति जुटेको हो । बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनमा रहेका विषयवस्तुका बारेमा जानकारी गराउनुभएको थियो ।सोही आधारमा एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने सहमति जुटेको नेकपा उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो ।

‘कार्यदलको तर्फबाट ब्रिफिङ भयो। कार्यदलका संयोजकले अध्ययनलाई आधार मानेर त्यसमा रहेका गम्भीर र आपत्तिजनक कुराहरु सुनाउनुभयो। त्यो सुनेपछि सचिवालयका सबै सदस्य एमसीसी जस्ताको तस्तै पास गर्नुहुँदैन भन्ने निष्कर्षमा पुग्यौं,’ उपाध्यक्ष गौतमको भनाइ थियो । ‘अब कार्यदलका सबै सदस्यले प्रतिवेदनमाथि थप अध्ययन गर्ने र अर्को बैठकबाट एमसीसीबारे निर्णय गर्ने गरी सहमति भयो

सचिवालय सदस्यले प्रतिवेदन अध्ययन गरेपछि दुई/तीन दिनमा सचिवालयको अर्को बैठक बस्ने छ।

वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको थियो। शनिबार कार्यदलले प्रतिवेदनको विषयबस्तुबारे सचिवालय बैठकमा ब्रिफिङ गरेको हो।

माघ १५ देखि १९ सम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकमा एमसीसीबारे विवाद भएपछि अध्ययनको लागि खनालको संयोजकत्वमा परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य प्रदिप ज्ञवाली र अर्का स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको कार्यदल गठन भएको थियो। उक्त कार्यदलले २० दिन अध्ययन गरेर प्रतिवेदन बुझाएको हो।

१० फाल्गुन २०७६, शनिबार २०:०१  मा प्रकाशित

Write your Comment