धनगढी, १९ फागुन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता प्रक्रियामा भएको ढिलाइ र कमीकमजोरीप्रति आत्मआलोचना गर्दै सच्चिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेकपा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले पार्टीका विद्यमान कमिटीलाई मिलाएर वैज्ञानिक आधारमा एकता प्रक्रियामा गएको भए एकता प्रक्रियामा समस्या नआउने बताउनुभयो । पार्टीलाई कसैले विघटनको दिशामा जान्छ भनेर सोचेको भए उसको सपना पूरा नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो पार्टीलाई सुदृढ गर्नेबाहेक विकल्प छैन ।”
उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनचाहनाअनुसार तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र एक भएको उल्लेख गर्दै जनताले दिएको अभिभारा पूरा गर्न पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । वर्तमान अवस्थामा देशभित्र र बाहिरका शक्तिले सरकारमाथि चुनौती खडा गरिरहेका उहाँले उल्लेख गर्नुभयो ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको दृढ इच्छाशक्तिले दुई पार्टीबीचको एकता सम्भव भएकाले भेलामा पार्टीको आलोचना नभई नीति विचारमा बहस चलाउनुपर्ने बताउनुभयो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीको मर्म र भावनाअनुसार नेता कार्यकर्ता अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले गरेका काम जनता समक्ष पुर्याउने काममा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।पार्टीका प्रदेश इञ्चार्ज भीमबहादुर रावलले विधि पद्धति र प्रक्रियाबाट पार्टी चल्नुपर्नेमा जोड दिनुभयो । भेलामा नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापा, नेता खगराज भट्ट, लक्ष्मणदत्त जोशी, भानुभक्त जोशी लगायतले बोल्नुभएको थियो ।