नेकपा बाराका नेताहरुद्वारा बारा र पर्सा जिल्लाका सडक र पुल निर्माण गरिदिन मन्त्रीनेम्वाङसँग आग्रह

४ चैत्र २०७६, मंगलवार १४:५६ प्रकाशित

बारा ४ चैत्र
नेपाल कम्युनिस् पार्टी नेकपा बाराका नेताहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेट गरी बारा तथा पर्सा जिल्लामा रहेका सडक र पुल निर्माणका लागि बजेट विनियोजन गर्न र संचालित योजना तीब्र गतिमा अगाडि बढाइदिनका लागि आग्रह गरेका छन् । मन्त्री नेम्वाङसँग भेटगरी बारा जिल्लाका अति आवश्यक र महत्वपूर्ण सडकहरु कोतवाली-पिपरपाती सडक, निजगढ-भरतगंज-फापरवारी सडक ( दुई नम्वर र वाग्मती प्रदेश जोड्ने सडक ), सिमरा-कोल्हवी सडक, कोल्हवी-कलैया सडक,जैतापुर-कलैया-वघवन-पिप्राढी-देवापुर सडक,रजघट्टा-भलुई सडकमा बजेट विनियोजन गरी तीव्रताका साथ काम अगाडि बढाउनका लागि आग्रह गरिएको नेकपाका नेता मनोज पौडेलले जानकारी दिनुभयो । त्यसैगरी अत्यावश्यक रहेका नदीहरूमा पुल निर्माण गरिदिन पनि आग्रह गरेका छन् । नेकपाका नेता तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेल र नेकपाका नेता अच्युत मैनाली सहितको टोलीले सो माग गरेको हो ।तत्काल अनिवार्य रुपमा निर्माण गरिनुपर्ने पुलहरुमा सिमरा कोल्हवी सडकमा पर्ने पसाहा पुल टेण्डर गरिनुपर्ने, शक्ति खोला पुल टेण्डर गर्ने ,अमलेखगञ्ज निजगढ सडकमा पर्ने दुधौरा पुल, वकुलीया अम्वाडार फत्तेपुर सडकमा पर्ने दुधौरा पुल, सुक्लैया मा पर्ने बाल बालगन्गा पुल निर्माणका लागि आग्रह गरिएको पौडेलले बताउनुभयो । त्यसैगरी पर्साको लाइफ लाइनको रुपमा रहेको पर्सा ठोरी जनता रोड हुदै जीरा भवानी गाउपालीका भएर ठोरी गापा घ्याङडाडा जाने सडक निर्माणका लागि आग्रह गरिएको पौडेलले बताउनुभयो । सो टोलीमा पूर्वमन्त्री पुरूषोत्तम पौडेल नेकपा केन्द्रीय सदस्यहरु अच्युत मैनाली,वलवीर चौधरी प्रदेशसभाका सदस्य सुन्दर विक,जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेल,जि बि स बाराका पूर्व सभापति छठु प्रसाद यादब,नेकपाका नेता मनोज पौडेल,कोल्हवी नगरपालिकाका प्रमुख भरत भण्डारी, जितपुरसिमरा उप महानगरपालिका उपप्रमुख सरस्वती चौधरी निजगढ नगरपालिका उपप्रमुख लीला खनाल,ठोरी गाउँपालिका अध्यक्ष पि एल श्रेष्ठ लगायतका सहभागि रहनुभएको थियो ।

४ चैत्र २०७६, मंगलवार १४:५६  मा प्रकाशित

Write your Comment