काठमाडौं : फ्रान्सबाट आएकी युवतीलाई तीन पटकको परीक्षणबाट कोरोना संक्रमण पोजेटि भएको खुलेको छ। जनस्वास्थ्य प्रयोगशालामा पटक पटक गरिएको परीक्षणबाट मात्रै उनमा कोरोनाका भाइरस रहेको पत्ता लागेको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार चैत ४ गते काठमाडौं आएर होम क्वारेन्टाइनमा बसेकी १९ वर्षीया युवतीलाई रुघा लागेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगेकी थिइन्।
स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार ती युवतीको स्वाब पहिलो र दोस्रो पटक परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो। तर तेस्रो पटकको परीक्षणबाट मात्रै उनमा कोरोना संक्रमण रहेको पत्ता लागेको थियो।
ती युवती चिकित्सककै परिवारकी सदस्य भएको खुलेको छ। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई अभिभावकले टेकुस्थित शुक्रराज अस्पतालमा परीक्षणका लागि पुर्याएका थिए।
तीन पटकको परीक्षणका क्रममा कोरोना देखिएपछि उनलाई अहिले शुक्रराज अस्पतालकै आइसोलेसनमा राखिएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ती युवतीसँग भेट भएजति सबैको खोजी थालिएको बताए। उनले युवती सवार भएर आएको जहाजका यात्रुको पनि खोजी गरिएको बताउँदै ती सबैलाई क्वारेन्टाइनमा राखिने जानकारी दिए।