मापदण्ड विपरित उद्योग सञ्चालन गरेको भन्दै स्थानीयले गरे प्रशासनमा उजुरी

३१ बैशाख २०७७, बुधबार १७:५७ प्रकाशित

बारा ३१ बैशाख
जितपुर सिमरा उपमहानगरपालिकाका स्थानीय बासिन्दाले सरकारले तोकेको मापदण्ड विपरित उद्योगहरु सञ्चालन भइरहेको र केही उद्योग सञ्चालन गर्ने तयारीमा रहेको भन्दै इलाका प्रशासन कार्यालय सिमरा मार्फत जिल्ला प्रशासन कार्यालय बारालाई मापदण्ड विपरित चलेका उद्योग बन्द गराउन ज्ञापनपत्र बुझाएका छन् । इलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरे मार्फत सो ज्ञापनपत्र बुझाइएको हो । कोरोनाभाइरसका कारण मुलुक आक्रान्त बनिरहेका बेला सिमरामा रहेका सुर्य नेपाल, हुलास स्टिल लगायतका उद्योगहरु मापदण्डविपरीत संचालनमा रहेको र जगदम्बा स्टिल सञ्चालनको तयारीमा रहेकोले मापदण्ड विपरित सञ्चालन भएका सवै उद्योगहरु बन्द गराउन माग गरिएको दुर्गा नगर समन्वय समितिका संयोजक बसन्त ढकालले जानकारी दिनुभयो । सूर्य नेपालमा दुईदिनको बिचमा उदयपुरको गाईघाट र बुटवलबाट मजदुरहरु ल्याइएको छ । त्यसका साथै मंगलबार मात्रै वीरगन्जबाट आएका मजदुरलाई काममा लगाएको स्थानीयले बताएको र सो कुरालाई उद्योग प्रशासनले समेत स्वीकार गरेको छ । त्यसैगरी जगदम्बा स्टिलले भारतबाट आएका मजदुर र सिमरा बाहिरबाट मजदुर ल्याएर उद्योग सञ्चालन गर्न लागेपछि स्थानीयले जोखिम बढ्ने भन्दै चर्को विरोध गर्दै आएका छन् । ज्ञापन पत्र बुझाउन बसन्त ढकाल सहित हिरा बस्नेत, इश्वर थपलिया,शंकर खत्री,राम प्रसाद भट्टराई,बिष्णु श्रेष्ठ,लेख बहादुर श्रेष्ठ,मनिस प्याकुरेल,मान बहादुर श्रेष्ठ लगायतका इलाका प्रशासन कार्यालय सिमरा पुग्नुभएको थियो । यसैबीच बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सरकारले तोकेको मापदण्ड विपरित कुनै पनि उद्योग सञ्चालन गर्न नदिने स्पष्ट पार्नुभएको छ ।

३१ बैशाख २०७७, बुधबार १७:५७  मा प्रकाशित

Write your Comment