स्वस्थ्य भएर फर्किए बांकेका २१ जना संक्रमित

९ जेष्ठ २०७७, शुक्रबार १३:०९ प्रकाशित

नेपालगञ्ज ९ जेठ:
बाँकेका २१ जना कोरोना संक्रमितहरु स्वस्थ्य भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो ।कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरु सहित २१ जना रहेका छन् ।

‘आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो’ आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश थापाले भन्नुभयो ‘बाँकी ७ जनाको पनि स्वास्थ्य अवस्था सामान्य नै छ ।’

उक्त अस्पतालमा बाँके र बर्दियाका २८ जनाले उपचार गराइरहेका छन् । कोरोना पोजेटिभ देखिंदैमा आत्तिनुनपर्ने र मनोबल उच्च बनाएमा कोरोनालाई जित्न सकिने डा. थापाले बताउनुभयो ।

९ जेष्ठ २०७७, शुक्रबार १३:०९  मा प्रकाशित

Write your Comment