काठमाडौं १० जेठ :
नेपाली सेनाले महासेनानी (कर्नेल) भूपालमान अधिकारीलाई आर्थिक अनियमितता गरेको आरोपमा बर्खात गर्ने निर्णय गरेको छ । नेपाली सेनाको सामरी जनरल अदालतले कर्नेल अधिकारीले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा सम्पर्क अधिकृत रहँदा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गर्दै बर्खास्त गर्ने निर्णय गरेको हो ।
नेपाली सेनाको कर्नेल अधिकारीलाई दुई महिना कैद र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो । सैनिक अदालतले गरेको फैसलाअनुसार अधिकारीबाट एक करोड ८५ लाख ४० हजार एक सय ८ रुपैयाँ एघार पैसा असुल गरिनेछ । त्यस्तै भ्रष्टाचार आरोप लागेका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) देवबहादुर क्षेत्रीको २ वर्ष बढुवा रोक्का हुने भएको छ । सैनिक अदालतले क्षेत्रीबाट ४ लाख ४० हजार रूपैयाँ असुल उपर गराउने फैसला गरेको छ ।
त्यस्तै हुद्धा योग्यराज पोखरेललाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सैनिक सेवाबाट हटाइएको छ भने उनीबाट ३ लाख ६० हजार रूपैयाँ असुल उपर गर्ने फैसला भएको छ । अर्का हुद्धा गणेशबहादुर अधिकारीलाई दुई वर्ष ग्रेड रोक्का गर्ने र उनीबाट १० हजार रूपैयाँ असुल उपर गर्ने फैसला भएको छ । लेखा तर्फका सह सेनानी सुरेन्द्र विक्रम भण्डारीलाई नसिहत दिने फैसला भएको छ ।