जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत थप तीन प्रहरीमा कोरोना पुष्टि/अस्पताल लैजाने तयारी

११ जेष्ठ २०७७, आईतवार १८:०१ प्रकाशित

बारा११ जेठ

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका थप तीन जना प्रहरीमा कोरोना भाईरस देखिएको छ ।
कोरोना देखिनेमा पर्सा जिल्ला घर भएका बर्ष ३२ का प्रहरी जवान, कलैया उपमहानगरपालिका १६ घर भएका बर्ष ३४ का प्रहरी हवल्दार र रौतहट घर भएका बर्ष ३४ का प्रहरी जवान गरी तीन जना प्रहरी कर्मचारीमा कोरोना संक्रमित रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।
कोरोना भाईरस देखिएका प्रहरी कर्मचारीहरुलाई जिल्ला अस्पताल कलैयामा लैजाने तयारी भइरहेको प्रजिअ पण्डितले बताउनुभयो ।
उनीहरु जेष्ठ ३ गते स्वाब संकलन गरी परिक्षणको लागि काठमाडौँको टेकु स्थित केन्द्रिय प्रयोगशालामा पठाईएको थियो ।
अहिले उनको प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिहरुको खोजि कार्य भईरहेको प्रमुख जिल्ला अधिकारी पण्डितको भनाई छ ।
सर्लाही घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहेका बर्ष ४९ का प्रहरी नायब निरिक्षक (सई) को कोरोना पुष्टि भएको केही समयपछि थप तीन प्रहरी कर्मचारीमा कोरोना देखिएको प्रजिअ पण्डितले बताउनुभयो ।
यस भन्दा अघि जेष्ठ ३ गते जिल्ला प्रहरी कार्यालय बारामा नै कार्यरत रहेका बर्ष ३५ का मुद्धा फाटका प्रहरी जवानमा कोरोना पुष्टि भएको थियो । उनी प्रहरीको लागि निर्माण गरिएको बाल मन्दिरमा बनाईएको आईसोलेसनमा बस्दै आएका थिए ।
पहिलो संक्रमित जवानको कन्ट्याक्ट ट्रेसिङका आधारमा उनको स्वाब सङकलन गरी परिक्षणको लागि पठाएको थियो । योसँगै बारामा कोरोना देखिने प्रहरीको सङख्या पाच पुगेको छ ।

११ जेष्ठ २०७७, आईतवार १८:०१  मा प्रकाशित

Write your Comment