धनगढी १४ जेठ
सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेका एक १ जना कोरोना शंकास्पद र कञ्चनपुरस्थित क्वारेन्टाइन व्यवस्थापनमा लागेका १ जना प्रतिनिधि गरी दुईजनाको मृत्यु भएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय वृद्धको बुधबार बिहान ज्यान गएको हो । उनी मंगलबार साँझ मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । उनी मंगलबार नै भारतको महारास्ट्रबाट आएको जनाइएको छ ।
मृतकको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको श्रेष्ठले बताए । पिसिआरको आगि स्वाब संकलन गरिएको उनले जानकारी दिए । भारतबाट आएका र त्यसैमाथि स्वास्थमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै, कञ्चनपुर जिल्लामा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका प्रतिनिधिको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका ७ का जनप्रतिनिधिको मंगलबार राति मृत्यु भएको हो ।सोही वडाकै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका ५८ बर्षीय ती जनप्रतिनिधि एक्कासी बेहोस भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रैकवारविचवाका प्रहरी सहायक निरीक्षक भीम सिंहले बताए ।
रानाको मृत्युको कारण खुल्न सकेको छैन । अहिले उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनको पनि बुधबार कोरोना परीक्षण गरीने अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए ।