झापाबाट धरान पठाइएका संक्रमित रातभर बाहिरै

१७ जेष्ठ २०७७, शनिबार ०९:३२ प्रकाशित

विराटनगर १७ जेठ :
झापाको कचनकवल गाउँपालिकाबाट कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार धरान पठाइएका २७ जना संक्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नगरी रातभर बाहिरै राखेको छ ।

शुक्रबार राति करिब १० बजे झापाबाट २७ जना कोरोना संक्रमित धरान आइपुगेका थिए । अस्पतालले भर्ना नलिएपछि उनीहरु रातभर गाडीमै बसिरहन बाध्य भए । उनीहरुले रातभर केही खान पनि नदिइएको गुनासोसमेत गरेका छन् । कचनाकवल गाउँपालिकाबाट संक्रमितहरु ल्याएर आएको गाडीलाई प्रतिष्ठानको पार्किङ क्षेत्रमा राखिएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६७ जना संक्रमित छन् । अस्पतालमा तयारी अवस्थाको बेड ७० वटा मात्र भएकाले भर्ना लिन समस्या भएको प्रतिष्ठानका प्रवक्ता डा. निर्देश सापकोटाले जानकारी दिए ।

गाउँपालिकाबाट समन्वय नगरी आएका कारण समस्या भएको बताउँदै उनले भने, ‘हामीसँग यसअघि ६७ जना हुनुहुन्छ । अरु विरामी जस्तो सहजै राख्न सकिन्न ।’ उनले झापाबाट संक्रमितहरु आएपछि रातभर बेडको व्यवस्था गरेको र अब भर्ना लिइने बताए ।

१७ जेष्ठ २०७७, शनिबार ०९:३२  मा प्रकाशित

Write your Comment