आवश्यक पर्ने कोरोना संक्रमितलाई मात्र अस्पताल भर्ना गर्छौं : स्वास्थ्य मन्त्री ढकाल

२१ जेष्ठ २०७७, बुधबार १४:१५ प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको संख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन्।
अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेसनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्याइमेट एक्सन फाउण्डेसनले बुधबार उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्यावस्थाका बिरामीलाई उपचारका लागि आइसोलेसन कक्ष स्थापना गरी त्यहाँ राखिने बताए।
उनले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा संक्रमित भएकामध्ये ८० प्रतिशत बिरामी सामान्यावस्थाका हुने भएकाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नाका लागि अब नयाँ नीतिमा जाने स्पष्ट पारे।
उनले मुलुकमा १५ हजारसम्म सङ्क्रमित हुन सक्ने आकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भेन्टिलेटरसहितको अस्पतालमा राख्न सकिने प्रबन्धमा सरकार लागेको जानकारी दिँदै स्वास्थ्य सामग्रीको अभाव भएका बेला प्राप्त सहयोगलाई अतिआवश्यक ठाउँ हेरेर पारदर्शीरूपमा वितरण गरिने बताए।

२१ जेष्ठ २०७७, बुधबार १४:१५  मा प्रकाशित

Write your Comment