कोरोना संक्रमितको शव व्यवस्थापनमा पोखराका स्थानीय द्वारा फेरि अवरोध

११ असार २०७७, बिहीबार १४:४८ प्रकाशित

पोखरा ११ आषाढ :
कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा पोखराका स्थानीय वासिन्दाले अवरोध गरेका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएका स्याङ्जाका संक्रमितको शव पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा व्यवस्थापन गर्न खोज्दा स्थानीयले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।
शव व्यवस्थापनका लागि डोजरले खाल्डो खन्न थालेको थाहा पाएलगत्तै स्थानीय वासिन्दाले आन्दोलन र शव लैजान अवरोध गरेका थिए । तर सुरक्षा निकायले शव व्यवस्थापनका लागि घाटतर्फ लैजाँना लाग्दा प्रहरी स्थानीय वासिन्दाबीच झडप भएको हो ।
झडपमा दुई जना प्रहरी र १० जना भन्दा बढी स्थानीय वासिन्‍दा घाइते भएका छन् । प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले शव व्यवस्थापन गरेर फर्किने क्रममा झडप भएको बताए । ‘सुरुदेखि नै अवरोध सिर्जना भइरहेको थियो । पछि सद्गगद् गरेर फर्किनेबेला स्थिति असामान्य बन्न पुगेको हो,’ उनले भने, ‘नाकामा चेकिङका लागि राखिएका टेन्टमा सामान्य क्षति पुगेको छ ।’
झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।
यसअघि कास्कीमा कोरोनाका कारण मृत्यु भएका स्याङ्जाका ६० वर्षीय एक पुरुषको शव व्यवस्थापनमा पनि स्थानीय वासिन्दाले अवरोध गरेका थिए । जेठ २५ गते मृत्यु भएका ती व्यक्तिको शव पोखरा ११ र २० को सीमानामा व्यवस्थापन गरिएको थियो ।
बस्ती नजिक भएको र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत शव व्यवस्थापन गर्न लागिएको भन्दै जनप्रतिनिधिले नै अवरोध गरेका थिए । त्यतिबेला पनि प्रहरी र स्थानीयबीच झडप हुँदा वडाध्यक्षसहित केही प्रहरीसमेत घाइते हुन पुगेका थिए ।

११ असार २०७७, बिहीबार १४:४८  मा प्रकाशित

Write your Comment