८० बर्ष पुरा गरेका जेष्ठ नागरिकलाई मासिक थप ५ सय भत्ता दिने कोल्हवी नगर प्रमुख भण्डारीको घोषणा

१९ असार २०७७, शुक्रबार ०८:४६ प्रकाशित

बारा १९ आषाढ :
कोल्हवी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि जनताको मन छुने लोकप्रिय कार्यक्रम ल्याउन लागिरहेको छ । नगरपालिकाले नगरभित्र ८० वर्ष उमेर पूरागरेका जेष्ठ नागरिक वृद्धवृद्धाहरुलाई थप ५सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने नगरप्रमुख भरतबहादुर भण्डारीले घोषणा गर्नुभएको छ । त्यसैगरी बाली बीमा,माछा विमा,पशु बिमाको कार्यक्रमलाई अगाडि बढाउनुको साथै किसानहरुका लागि ६०प्रतिशत नगरपालिकाको लगानी र ४० प्रतिशत किसानले ब्यहोर्नेगरी इन्डक्सन चुलो वितरण गरिने कार्यक्रम ल्याउन लागिएको नगरप्रमुख भण्डारीले जानकारी दिनुभयो । दुध तथा माछा उत्पादक किसानहरूका लागि ढुवानी साधन खरिद गर्न ५०% रकम नगरपालिकाले ब्यहोर्ने र ५० प्रतिशत सहकारी समूहबाट व्यहोर्ने गरी अनुदान दिने कार्यक्रम ल्याउन लागिएको उहाँको भनाइ छ । कोल्हवी नगरपालिकाले यस आर्थिक वर्षमा ८ किलो मिटर सडक कालोपत्रे गरेको, १०किमी सडक पक्की ढलान गरेको,१० किमि पक्की नाला र सडक स्तरउन्नती गर्नुका साथै कोल्हवीको खैरा जाने सडकमा पुल र कुमरगढी गरी दुईवटा पुल निर्माण गरेको जनाएको छ । त्यसैगरी यस आर्थिक वर्षमा १५ शैयाको अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको र आगामी आवमा सबै वडाले आफ्नै भवनमा कार्यालय संचालन गर्ने गरी योजना बनाउनुका साथै सबै वडाहरुमा स्वास्थ्य कार्यालय सञ्चालन गरिने कार्यक्रम ल्याउन लागिएको नगरप्रमुख भण्डारीले जानकारी दिनुभयो ।
ज्येष्ठ नागरिकहरूका लागि स्थानीय तहको तर्फबाट थप सामाजिक सुरक्षा भत्ता दिने प्रदेश नं २ मै कोल्हवी नगरपालीका पहिलो हो ।

१९ असार २०७७, शुक्रबार ०८:४६  मा प्रकाशित

Write your Comment