बिरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएकी १७ बर्षिया किशोरीको पिसिआर रिपोर्ट पोजेटिभ

९ श्रावण २०७७, शुक्रबार २०:२८ प्रकाशित

वीरगञ्ज ९ श्रावण :

बिरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएकी १७ बर्षिया किशोरीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।उनको केहीबेर अगाडि पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षकी किशोरीको वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार अपरान्ह मृत्यु भएको अस्पतालका डा. निरज सिंहले जानकारी दिनुभयो ।
बुधबार नारायणी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगञ्ज हेल्थ केयर अस्पताल लगिएको थियो । त्यहाँको आकस्मिक कक्षमा भर्ना गर्दा अवस्था गम्भीर देखिएपछि उनको रयापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको थियो ।

आरडीटी एन्टीबडी पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह मृत्यु भएको हो ।

‘पखाला लाग्ने र जिउ काम्ने भइरहेको थियो, सँगसँगै स्वास प्रश्वासमा पनि समस्या थियो’ डा. निरज सिंहले, ‘उहाँलाई बचाउन सकेनौं, पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।’

वीरगञ्ज हेल्थ केयर अस्पतालका अनुसार बुधबार राति साढे १० बजे उनलाई नारायणी अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो ।

आरडीटी पोजेटिभ देखिएपछि हेल्थ केयरमै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो । बिहीबार रिपोर्ट नआएपछि जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर गण्डक अस्पतालमा रेफर गरिएको अस्पतालका सञ्चालक डा अबुलहैस अन्सारीले बताए ।

‘अक्सिजन मेन्टेन भइरहेको थिएन, ७५ प्रतिशत देखाइरहेको थियो । छातीको एक्सरे गरेर हेर्दा फोक्सो पुरै खराब देखिएको थियो’ उनले भने ‘कोरोना संक्रमणको आशंका भएपछि गण्डक अस्पतालमा रेफर गरेका हौं ।’

उनमा स्क्रब टाइफससमेत पोजेटिभ देखिएको डा अन्सारीले बताएका छन् । इमर्जेन्सीमा उनको उपचारमा संलग्न ५ जना कर्मचारीलाई क्वारेन्टिनमा राखिएको र इमर्जेन्सी सिल गरेर अर्कै ठाउँबाट सेवा दिइरहेको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ

गण्डक कोभिड अस्पतालमा ५४ जना संक्रमित उपचाररत छन् । जसमध्ये ४ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

९ श्रावण २०७७, शुक्रबार २०:२८  मा प्रकाशित

Write your Comment