नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन : के छ प्रतिवेदनमा ?

६ भाद्र २०७७, शनिबार १९:४६ प्रकाशित

काठमाडौं ६ भाद्र :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यदलले विवाद समाधानका लागि सुझावसहितको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको तर्फबाट महासचिवसमेत रहेका कार्यदल संयोजक विष्णु पौडेलले अध्यक्षद्वयलाई विवाद समाधानका लागि सुझावसहितको प्रतिवेदन बुझाएका हुन् ।

कार्यदलका एक सदस्यका अनुसार स्थायी कमिटीको बैठकलाई नियमित एजेण्डामा लैजाने, प्रधानमन्त्रीको राजीनामा बैठकको एजेण्डा नबनाउने, सैद्धान्तिक तथा विवादका अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने र चैतमा महाधिवेशन गर्नेगरी सुझाव दिइएको छ । त्यस्तै महत्वपूर्ण राजनीतिक नियुक्ति गर्दा पार्टीमा छलफल गरेरमात्रै गर्नेलगायतका कुरा पनि समेटिएको छ ।

त्यस्तै सरकारको नेतृत्व अध्यक्ष ओलीले गर्ने र पार्टीको सबै कार्यकारी अधिकार प्रचण्डमा हुने प्रतिवेदनमा उल्लेख छ । संघीय सरकारको मन्त्रिमण्डल र आवश्यकता अनुसार प्रदेश सरकार हेरफेर गर्ने, कोरोनाको संक्रमण कम भएपछि केन्द्रीय कमिटी बैठक बोलाउने लगाएतका विषयमा प्रतिवेदनमा उल्लेख गरिएको ती सदस्यले जानकारी दिए ।

कार्यदलको प्रतिवेदनमा अब अध्यक्षद्वयले अध्ययन गरेर पार्टीको सचिवालय बैठकमा छलफल गर्ने तयारी गरिएको छ । नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वय ओली-प्रचण्डले महासचिव पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, जनार्दन शर्मा र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गरेका थिए । कार्यदल गठनलाई सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

६ भाद्र २०७७, शनिबार १९:४६  मा प्रकाशित

Write your Comment