भारतमा एकैदिन ८६ हजार सङ्क्रमित भेटिए/कोरोना भाइरसबाट संक्रमित हुनेमा पहिलो अमेरिका,दोस्रो ब्राजिल र तेस्रो भारत

२१ भाद्र २०७७, आईतवार ०९:४६ प्रकाशित

भारतमा एकैदिनमा कोरोनाभाइरसका थप ८६ हजार मानिस सङ्क्रमित भएको पाइएको छ।
शनिवार दिइएका विवरणअनुसार २४ घण्टाको अवधिमा ८६,४३२ नयाँ सङ्क्रमित भेटिएका छन्।
यो सङ्ख्या अहिले सम्मको दैनिक सर्वाधिक वृद्धि हो। साथै विश्वमा अन्यत्र कुनै देशमा पनि एकैदिन यति धेरै सङ्ख्यामा सङ्क्रमित भेटिएका छैनन्।
वितेका तीन दिनदेखि भारतमा लगातार प्रतिदिन ८० हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कुल ४० लाख २३ हजारभन्दा धेरै संक्रमित भेटिएका छन्।
तीमध्ये साढे आठ लाख जति सक्रिय सङ्क्रमित छन् भने ३१ लाख मानिस निको भइसकेका छन्।
हालसम्म भारतमा कोभिड-१९ का कारण ६९,५६१ मानिसको ज्यान गइसकेको छ। शनिवार दिइएको विवरणमा २४ घण्टाको अवधिमा त्यहाँ १०८९ जनाको ज्यान गएको छ।
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले राखेको विवरण अनुसार संसारभरि कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ करोड ६६ लाख नाघेको छ।
कोभिड-१९ ले हालसम्म संसारका आठ लाख ७६ हजार मानिसको ज्यान लिइसकेको छ।
सबभन्दा धेरै सङ्क्रमित अमेरिकामा पाइएका छन्। त्यहाँ ६२ लाख मानिस सङ्क्रमित भइसकेका छन् भने एक लाख ८८ हजारभन्दा धेरैको ज्यान गइसकेको छ।
दोस्रो स्थानमा ब्राजिल छ जहाँ ४० लाख ९१ हजारभन्दा धेरै सङ्क्रमित भेटिएका छन्। त्यहाँ एक लाख २५ हजार मानिसको ज्यान गइसकेको छ।
तेस्रो स्थानमा रहेको भारतमा तिब्र गतिमा सङ्क्रमण वृद्धि भइरहेको हुनाले ब्राजिललाई भारतले उछिन्ने देखिएको छ।

२१ भाद्र २०७७, आईतवार ०९:४६  मा प्रकाशित

Write your Comment