काठमाडौं२७ भाद्र :
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्कमा गएराति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ। २२ जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार नागपुचेमा ७ वटा घर पुरिँदा १ जनाको मृत्यु र १६ जना बेपत्ता भएका छन्। ६० वर्षीया भक्तिमया श्रेष्ठको शव भेटिएको सापकोटाले बताउनुभयो। यस्तै भीरखर्कमा २ घर पहिरोले पुरिएको ठाउँमा २२ वर्षीया जुनु विकको शव भेटिएको छ। ६ जना बेपत्ता भएका छन् । अहिले स्थानिय र प्रहरी उद्धारमा खटिएका नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिनुभयो ।
उहाका अनुसार विस्तृत विवरण आउन बाँकी छ। यसैबीच आफ्नो जिल्लामा पहिरो गएको जानकारी पाएसँगै सभामुख अग्निप्रसाद सापकोटा बिहानै त्यसतर्फ जानुभएकोछ । उहाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटा स्थलमार्ग हुदै त्यसतर्फ जानुभएको हो ।
सिन्धुपाल्चोकमा केहि समय अघि मात्रै पहिरोले गाउँ नै बगाउँदा ठुलो जनधनको क्षति भएको थियो । बाह्रबिसे नगरपालिका–५ जम्बु र जुगल गाउँपालिका–२ लिदी पहिरोले ठुलो क्षति पुर्याएको थियो।