प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पारित

२० आश्विन २०७७, मंगलवार १६:३९ प्रकाशित

बुटवल २० आश्विन :
प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ ।
मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत खसेको छयस्तै स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको छ ।
प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँभीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो ।
प्रदेशको स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्तावको प्रमुख विपक्षी कांग्रेसले विरोध गरेको थिय भने सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए । कांग्रेसले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो ।
तर मंगलबार भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृपीप विपरित फ्लोर क्रस गरेका छन् । किनकी प्रदेशसभामा कांग्रेसका १९ सांसद भएपनि विपक्षमा १३ मत मात्र खसेको छ ।
प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ सांसद छन्, उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । यस्तै जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् ।

२० आश्विन २०७७, मंगलवार १६:३९  मा प्रकाशित

Write your Comment