कोरोना भाइरस संक्रमणबाट बिरगंजमा एक महिलाको मृत्यु

२ मंसिर २०७७, मंगलवार १३:५९ प्रकाशित

बिरगंज२ मंसिर :
कोरोनाभाइरस संक्रमणका कारण पर्साको वीरगञ्जकी एक महिलाको मृत्यु भएको छ । वीरगञ्जस्थति नेशनल मेडिकल कलेज तथा शिक्षक अस्पतालद्वारा सञ्चालित बाबा होटल कोभिड उपचार केन्द्रमा उपचाररत ६४ वर्षीय महिलाको सोमबार संक्रमणका कारण मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ की महिलालाई आइतबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना पश्चात कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाबलाई जिन एक्पर्ट प्रविधिबाट परिक्षण गर्दा आइतबार नै कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि महिलालाई बाबा होटल कोभिड उपचार केन्द्रमा रहेको आइसियूमा राखेर उपचार गरिएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताए । आइसियूमै उनको सोमबार साँझ उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो सँगै पर्सामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

२ मंसिर २०७७, मंगलवार १३:५९  मा प्रकाशित

Write your Comment