प्रचण्डको प्रस्ताव फिर्ताको कुरा झुठो हो – उपाध्यक्ष गौतम

३ मंसिर २०७७, बुधबार २०:१८ प्रकाशित

नेकपा उपाध्यक्ष बामदेब गाैतमले पार्टीको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता गर्नुपर्छ भनी अभिव्यक्ति दिएकाे भनेर आएका समाचार पुरै गलत र भ्रमात्मक भनी खण्डन गरेका छन् ।
गाैतमकाे सचिवालयका तर्फबाट बुधबार साँझ जारी प्रेस नाेटमा प्रचण्डले पेश गरेकाे प्रस्ताव यथार्थ धरातलबाट आएकाे र त्यसमा गाैतमकाे समेत याेगदान रहेकाे स्पष्ट पारिएको छ ।
उहांकाे सचिवालयले जारी गरेको नाेट –
केही भ्रमहरु छरिएका प्रति हाम्रो गम्भीर आपत्ति छ ।
नेकपा उपाध्यक्ष क.वामदेव गौतमले अध्यक्ष क.प्रचण्डका प्रस्ताव फिर्ता हुनुपर्ने जस्ता कुरा आजको सचिवालय बैठकमा राख्नुभयो भनी केही न्युज पोर्टलहरुमा आएका समाचार पूर्णतः झुठो हो, गोयवल्स शैलीको छ ।
आजको सचिवालय बैठकलाई सौहाद्रतापूर्ण तवरले सञ्चालन गर्नुपर्ने चुनौति थियो । आज क.प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने भन्ने कुनै एजेण्डा पनि थिएन । त्यसकारण वामदेव कमरेडलगायतका अन्य नेता कमरेडहरुले सौहाद्रतालाई ख्याल गर्दै कुनै किसिमको उत्तेजक अभिव्यक्ति आजको बैठकमा दिनुभएन । तर, समाचारहरुमा चर्काचर्की भयो, धम्साधम्सी भयो भन्दैभन्दै क.वामदेव गौतमले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने कुरा गरेकोसम्मका कपोलकल्पित कुरा आए ।
वास्तवमा आजको बैठकमा त्यस किसिमका कुनै कुरा उठेका छैनन् । अध्यक्ष तथा प्रधानमन्त्री क.केपी शर्मा ओलीले आफ्नो तर्फबाट पनि प्रस्ताव दर्ज गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएपछि बैठकको सौहाद्रतामा अझ बल पुगेको थियो ।
क.प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु क.वामदेव गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उहाँ सतिसालझैँ अडिग हुनुहुन्छ । यसबीचमा सम्माननीय राष्ट्रपति, प्रधानमन्त्रीहरुसँगको भेटमा पनि उहाँले यो कुरा व्यक्त गरिसक्नुभएको छ ।
प्रचण्डले पेश गर्नुभएका प्रस्तावहरु नेकपाका समस्त एकताप्रेमी, परिवर्तनकामी एवं विधि र पद्धति पक्षधर नेता–कार्यकर्ताको सामूहिक आवाज हो ।
क. केपी ओलीलाई धरातीय यथार्थबाट माथि (हावामा) उडाएर उहाँको सुन्दर राजनीतिक जीवनमा क्षति पुर्याउने काम तुरुन्त रोकियोस् ।
उहाँलाई खुशी पार्ने नाममा अरु नेताको बद्नामी गर्ने, भ्रम सिर्जना गर्दै अरु नेताको बदख्वाइँ गर्ने काम पनि तत्काल बन्द गरियोस् ।
क.वामदेव गौतमको सचिवालय
भैसेपाटी, ललितपुर

३ मंसिर २०७७, बुधबार २०:१८  मा प्रकाशित

Write your Comment